• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

विदेशमा आफन्त रहेकाहरुले नबुझी नहुने १० कुरा : गाेविन्द थापा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं ।  विदेशमा आफन्त रहेका व्यक्तिहरूले नबुझी नहुने दश कुरा’ भन्दै एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले सामाजिक संजाल फेसवुकमा  अत्यन्तै समयसान्दर्भिक  १० बुँदे  धारणा सार्वजनिक  गर्नुभएको छ।

उहाँले नेपालीहरूले आफ्नो देशमा क्षेप्यास्त्र, लडाकु ड्रोन, मिसाइल, एन्टी–मिसाइल आदि आफ्नो आकाशमा देखेका छैनन्। तर, इजरायल, साउदी अरब, दुबई (युएई), कुवेत, बहराइन र कतारमा रहेका लाखौं नेपालीहरूले अहिले यी सबै देखिरहेका छन्। हाम्रो रोजगारीका स्रोत रहेका देशहरूमा अहिले शान्ति छैन। हाम्रा प्रियजनहरू ती देशमा छन्, त्यसैले नेपालमा बस्ने हामी पनि शान्त छैनौं। हामी ठूलो चिन्तामा छौं। भनेर भन्नुभएकाे छ । 

उहाँले  अमेरिका र इजरायलले इरानमा आक्रमण गरेका हुन्। तर, इरानले साउदी अरब, दुबई, कुवेत, बहराइन र कतारमा किन आक्रमण गर्‍यो? जबकि ती देशहरूसँग इरानको प्रत्यक्ष युद्ध भएको होइन। यसको कारण हरेक नेपालीले बुझ्नुपर्छ, विदेशमा रहेका आफन्तहरूले त झन् बुझ्नुपर्छ भन्दै उहाँले १० बुँदामा अत्यन्तै  समयसान्दर्भिक धारणा प्रस्तुत गर्नुभएको छ।

१) अमेरिकाले साउदी, दुबई (युएई), कुबेत, बहराइन, कतारमा सैन्य अखडा बनाएको छ । ती अखडाबाट इरानमा आक्रमण गरिएको हुनाले इरानले पनि ती देशमा प्रत्याक्रमण गरेको हो । आफ्नो देशमा अमेरिकी सैन्य अखडा राख्न ती देशका जनता तयार छैनन् तर त्यहाँको सरकारले अमेरिका सामु झुकेर सैन्य अखडा बनाउन दियो । त्यहाँका शासकहरु बंकरमा लुकेर बस्छन् तर जनता चाहिँ कतिबेला ज्यान गुमाउनुपर्ने हो भनेर आतंकित भएर बस्नु परेको छ ।


२) विश्वमा अमेरिकाको ७५० भन्दा धेरै ठाउँमा सैन्य उपस्थिति छ । विभिन्न देशका १२८ ठाउँमा सैन्य अखडा बनाएको छ । अब नेपालमा अखडा बनाउने उद्देश्य छ ।


३) अमेरिकाको मुख्य दुश्मन इरान होइन, चीन हो । चीनलाई कमजोर बनाउन इरानलाई हानेको हो । चीनलाई घेरावन्दीमा पार्ने अमेरिकाको घोषित नीति छ ।
 

४) अमेरिकाले चीनलाई घेर्नका लागि सबैभन्दा चाहिने ठाउँ नेपाल हो । अर्थात्, नेपालमा जसरी पनि सैन्य अखडा बनाउने, नेपालमा अमेरिकी सेना राख्ने उद्देश्य छ । अमेरिकी सेना र शान्ति दुईटा एकै ठाउँमा बस्न सक्दैन, जहाँ अमेरिकी सेना त्यहाँ युद्ध भन्ने कुरा अहिले खाडीका देशहरुलाई हेरेर प्रष्ट बुझौं ।
 

५) नेपालमा अमेरिकी सैन्य अखडा राख्न कडा दवाब आइरहेको छ, अनेक षडयन्त्र भइरहेको छ । सैन्य अखडा राख्न नेपाली जनता तयार छैनन् । त्यसैले नेपालमा आफू अनुकूलको सरकार बनाउन अमेरिकाले प्रयास गरिरहेको छ ।
 

६) जुन देशले अमेरिकालाई सैन्य अखडा बनाउन दिँदैन त्यो देशको सरकार अमेरिकाले गिराउँछ र आफ्नो इशारामा चल्ने सरकार बनाउँछ । जस्तो कि बंगलादेशको सेन्ट मार्टिन टापुमा अमेरिकाले सेना राख्न चाहेको थियो तर तत्कालीन प्रधानमन्त्री शेख हसिनाले दिइनन् । त्यसपछि उनको सरकार सडक आन्दोलनबाट हटाइयो ।
 

७) नेपालमा सिआईएका चिफ आउन खोजेका थिए, उनको उद्देश्य नेपालमा सैन्य अखडा राख्ने थियो । त्यसैले केपी ओली सरकारले सिआईएका चिफलाई स्वागत नगर्ने निर्णय गर्यो । त्यसपछि ओली सरकार ढाल्ने काम भयो । अमेरिका समर्थक चीन विरोधी सुशिला कार्की सरकार बनाइयो ।
 

८) रास्वपा नामको पार्टीले नेपालमा चिनियाँ लगानी आउन नदिने नीति लिएको छ । यो पार्टीलाई जिताएपछि नेपालमा सैन्य अखडा राख्न सकिने अमेरिकाको बुझाई छ । 
 

९) युक्रेनले अमेरिकी सैन्य गठवन्धन नाटोको सदस्य बन्न खोजेपछि सीमा जोडिएको रुसलाई सुरक्षा खतरा भयो । रुसले युक्रेनमा आक्रमण गर्यो । नेपालमा अमेरिकी सैन्य अखडा राख्दा चीनलाई सुरक्षा खतरा हुन्छ । चीन चुप लागेर बस्ला त ? यही अवस्था देखेर नेपाल सहित विश्वका विभिन्न देशका बुद्धिजीवीहरुले युक्रेन जसरी नै नेपाल पनि युद्धमा फस्ने चेतावनी दिइरहेका छन् । यही बीचमा चीन विरोधी रास्वपालाई बेलुन फुलाए झैं फुलाउन पश्चिमा सञ्चार माध्यम लागिपरेका छन् । आउँदो चुनावपछि नेपाल युद्धमा होमिनसक्छ भनेर विश्वका ठूलाठूला बुद्धिजीवीहरुले भन्नुको कारण पनि यही हो ।
 

१०) अरु देश विरुद्ध प्रयोग हुँदा अनाहकमा युद्ध ब्यहोर्नुपर्दाे रहेछ भन्ने हामीले साउदी, कुबेत, बहराइन, युएई, कतार आदिलाई हेरेर बुझ्नुपर्छ । कुनै पनि देशमा सैन्य अखडा राख्नका लागि त्यहाँका जनताको समर्थन चाहिन्छ । जनताले अर्कै कामका लागि कुनै पार्टीलाई समर्थन गरेका हुन्छन् तर समर्थन गरेको पार्टीले सरकार बनाएपछि अमेरिकी नियत अनुसार देशलाई युद्धमा होम्छ । विश्वभरी यही भइरहेको छ । 
यति कुरा बुझिसकेपछि आफ्नो देशको भविष्य बारे निर्णय गर्दा अति, अति, अति गम्भीर भएर गरौं ।

प्रतिकृया दिनुहोस