‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद समाधान गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने भनिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत आयोजना गरिएको भनिएको विशेष महाधिवेशनबाट आएको समूहले गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले अदालतबाट अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उचित नभएको बताएका छन्।
उनले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भले विशेष महाधिवेशनको वैधताबारे गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको स्पष्ट भएको दाबी गरेका छन्।
देउवाले बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना विशेष महाधिवेशन अघि बढाउने प्रयासले नेपाली कांग्रेसलाई कमजोर बनाउने बताएका छन्। पार्टीभित्र सहमति कायम गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै सहमतिको अवसरलाई लत्याएर अघि बढ्नु कांग्रेसको हितमा नहुने उनको भनाइ छ।
उनले आफूलाई कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको स्पष्ट गर्दै कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन्।
“मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन,” देउवाले अपिलमा भनेका छन्। राज्य वा पार्टीले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने पनि उनले बताएका छन्।
पार्टीभित्रको विवादलाई लिएर चिन्ता व्यक्त गर्दै देउवाले कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा नियोजित षड्यन्त्रबाट निस्तेज हुन नसक्ने बताएका छन्। २००७ सालदेखि मुलुकमा भएका प्रमुख राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको दाबी छ।
देउवाले पछिल्लो तीन दशकमा नेपालले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन्। विगत ३५ वर्षको राजनीतिक संक्रमण र विभिन्न राजनीतिक दलहरूले गरेका कामको वस्तुगत समीक्षा गरेर मात्र मुलुकको अवस्थाबारे धारणा बनाउनुपर्ने उनको भनाइ छ।
यद्यपि प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्न नहुने भन्दै उनले सुशासन, रोजगारी सिर्जना, आर्थिक समृद्धि, विकास र राज्यप्रतिको नागरिक विश्वास सुदृढ गर्न नयाँ सोच र प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
अपिलको सुरुवातमा देउवाले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
प्राकृतिक विपत्तिको समयमा राजनीतिक विचार, धार्मिक आस्था र भौगोलिक सीमाभन्दा माथि उठेर खोज, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा एकजुट हुन उनले सबै नेपालीलाई आह्वान गरेका छन्। साथै, पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो स्थानबाट सहयोग गर्न निर्देशन दिएका छन्।
२०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै पक्ष एकजुट भएर संकटको सामना गरेको उदाहरण दिँदै देउवाले भोटेकोशी बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणमा पनि राष्ट्रिय एकताको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
अन्त्यमा उनले कांग्रेसभित्र देखिएको मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकमा अपिल गरेका छन्।


प्रतिकृया दिनुहोस