• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

अर्धभूमिगत प्रधानमन्त्री, मृत गणेश, भताभुंग सुशासन

लेख / विचार

लेख / विचार

-अनुपम शर्मिला

अर्ध भूमिगत प्रधानमन्त्री । भूमिगत लोकतन्त्र । भताभुंग सुशासन । यही हो आजको यथार्थ । बालेन्द्र सरकार जनता (विशेष गरी गरिब) लाई बाँच्न दिइरहेको छैन । आत्मदाह र आत्महत्या गर्न वाध्य पारिरहेको छ । बालेन्द्र सरकारको सिकार बनेका छन् गणेश नेपाली । 

यो सरकार गरिबको आँसुले होली खेल्छ । यो सरकार र प्रधानमन्त्रीको मुख सुरुदेखि नै बन्द थियो तर थुतुनो खुल्ला थियो । दुई तिहाईको सरकार आँखा र कान दुवै थुनेर बसेको छ । वास्तवमा यो सरकार कस्तो छ ? जनतालाई थाहा भइसक्यो, स्वयं सरकारलाई आफ्नो रुप थाहा नहुन सक्छ । मानवीय समवेदना नभएको यो सरकारले आफ्नो अनुहार हेर्ने ऐना हो गणेश नेपालीको मृत शरीर । गणेशको मृत आत्माले भन्दैछ, यो सरकारसँग अब लाज ढाक्ने एउटा टालो पनि बाँकी छैन ।

नागरिकप्रति राज्यको रवैया कस्तो छ भन्ने गणेश नेपालीको ह्रदयविदारक मृत्युबाट प्रष्ट हुन्छ । जेन्जी आन्दोलनको जगमा बनेको बालेन्द्र सरकार कस्तो छ भन्ने गणेशको मृत्युबाट थप छर्लङग हुन्छ । यसअघि सुकुम्बासीकाे उठिबासबाट प्रष्टै भइसकेकाे थियाे ।

हिजो प्रेम आचार्यहरुले आत्मदाह गर्दा राज्यको चरम असफलता देख्ने हालका प्रधानमन्त्री बालेद्र शाहले गणेश नेपालीको स्वास्थ्य लाभको कामना समेत गरेनन् । गणेशको नश्वर देह अब हामी माझ रहेन, बालेनले श्रद्धाञ्जली व्यक्त गरेनन् भने अनौठो नमाने हुन्छ । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले पनि मानवीय संवेदना देखाएनन् । यिनले देखाउँदैनन् । किनभने रास्वपाले सरकार चलाएको हो कि गणेश नेपालीहरु उत्पादन गर्ने कारखाना चलाएको हो भन्ने खुट्याउन गाह्रो छ । बालेन सरकारले आत्मदाह गर्ने गणेश नेपालीहरु उत्पादन गर्ने निरन्तर प्रयास गर्दै आएको छ । गरिबको बास उठाएर, घर भत्काएर मानिसलाई आत्मदाह गर्न वाध्य पार्ने प्रयास यो सरकारले गर्दै आएको थियो । सुकुम्बासीले आत्महत्या गरे ।अहँ, कसैले पनि आत्मदाह गरेनन्, रगतको आँशु पिएर बसे । तर, त्रिपुरेश्वरमा भने सरकार सफल भयो, गणेश नेपालीले आत्मदाह गरे । सरकार सफल भयो । हिजो प्रेम आचार्यहरुलाई आत्मदाह गर्न वाध्य पार्ने शासकहरु पनि गलत थिए र आज गणेश नेपालीलाई आत्मदाह गर्न वाध्य पार्ने शासकहरु झन् बढी खतरनाक छन् ।

सरकारले सय दिनमा गरेका कथित उपलब्धिको विवरण सार्वजनिक गरेपछि गणेशको ज्यान गयो । अब दुई सय दिनको उपलब्धि सार्वजनिक गर्नू, त्यसबेला गणेशको आत्मदाहलाई पनि उपलब्धिमै गन्नु । 

कालो चश्माधारी वर्तमान शासकहरुले गरिब देख्दैनन्, सुकुम्बासी देख्दैनन्, दु:ख देख्दैनन्, अभाव देख्दैनन् । देख्छन् त केवल सत्ता, देख्छन् त केवल गरिबको उठिबास, देख्छन् त केवल सुकुम्बासीको उठिबास र गर्छन् सुकुम्बासी बस्तीमा फौजी आक्रमण ।

घटनाक्रमतर्फ फर्काै..‍‍‍‍‍. व्यस्त सडक, प्रहरी र यात्रुका भीडमा गणेश नेपालीले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा रोक्न सकिन्थ्यो होला । तर प्रहरी र मानिसको भीड उनलाई रोक्न त परै जाहोस् उनी आगोको लप्काले छटपटाइरहँदा रमिते बन्यो, राज्य जस्तै निरिह बन्यो । जलेर गम्भीर घाइते भएका गणेश नेपालीलाई बालेनका सुरक्षाकर्मीले अपराधी जस्तो व्यवहार गर्‍याे, लखेट्यो । समयमै अस्पताल लगेन । उपचारमा ढिलासुस्ती गर्‍याे । कीर्तिपुरस्थित वर्न अस्पताल लैजानुपर्नेमा वीर अस्पतालतिर दाैडायाे । उपचारका लागि दिल्ली लैजाने हौवा फैलायो तर लगेन । प्रधानमन्त्री, सत्ता निकट नेता, मन्त्री भएको भए मात्र उनलाई थप उपचारको लागि लगिन्थ्यो हाेला । तर उनी गरिब थिए । समयमै उपचार समेत  पाएनन् ।

आफ्नो क्षमता र पारिश्रमिक भन्दा ठूलो जरिवानाका कारण आत्मदाह गरेका गणेश नेपालीको जलन र जलनपछिकाे मृत्युमा किन पग्लिएन प्रधानमन्त्री बालेनको मन ? हिजाे सत्ता बाहिर हुँदा गरिबकाे चमेली राेइदिने काेही छैन‍‍.... भन्ने बालेन आज कार्यकारीकाे कुर्सीमा हुँदा गरिबमाथि किन क्रुर छन् ? गणेश नेपालीकाेबारे किन आएन सान्त्वनाको स्टाटस ? आफ्नो पक्षमा र अरुको विपक्षमा न्यारेटिभ सिर्जना गर्न स्टाटस आउँछ, आफ्नो लाइक कमेन्ट र फलोअर बढाउन स्टाटस आउँछ, आफ्नो मार्केटिङ गर्न स्टाटस आउँछ । तर, गरिबको आँशु पुछ्न स्टाटस आउँदैन, पीडितको सहानुभूतिमा स्टाटस आउँदैन, मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न स्टाटस आउँदैन ।

बालेन शाह उर्फ प्रधानमन्त्रीकै भाषामा के यो वर्तमान सरकारको चरम असफलता हो ? सरकार पतनको दिशामा गएको संकेत हो ? सरकारले कानूनी राज्यकाे धज्जी उडाएकाे हाे ?

राज्य नागरिककाे रक्षक हाे । कमजोर र विपन्न वर्गका लागि त राज्यकाे साथ-संरक्षण झन् अत्यावश्यक हुन्छ । तर बालेन सरकारले कमजाेर र विपन्नमाथि नै प्रहार गरिरहेकाे छ । गणेश नेपालीहरुले आत्मदाह गरुन् कि, सुकुम्बासीले आत्महत्या गरुन्, या आशिका बोटेहरु मरुन् बालेन सरकारलाई फरक पर्दै पर्दैन, यो कुरा सरकारकै गतिविधिले छर्लङ पारिहेको छ । यो सरकार गरिबका लागि हुँदै होइन थप प्रमाणित भयो । यो सरकार संवेदनाहीन छ भन्ने थप पुष्टि भयो । 

आत्मदाह र आत्महत्याको खाता खुलिसकेको छ । यो सरकारले खाता बन्द गर्छ कि थप नागरिकलाई आत्मदाह र आत्महत्या गर्न वाध्य पार्छ ?

आगो विरुद्ध पानी

हुन त अब ढिला भइसक्यो । जलनकाे प्राथमिक उपचार भनेको जलेको ठाउँमा तुरून्तै पानी हाल्नु हो । तर व्यस्त सडकमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई चोरलाई जस्तो व्यवहार गरियो, लखेटियो । समयमै अस्पताल लगिएन । वीर अस्पतालको वर्न वार्डमा लैजानुभन्दा सलाइन पानीको व्यवस्था गरेर तत्काल कीर्तिपुरस्थित वर्न अस्पताल लैजानुपर्थ्याे । किनकी जलेका बिरामीको उपचारका लागि विशेष अस्पताल हो त्यो । २० प्रतिशत भन्दा बढी जलेको बिरामीलाई मेजर मानिन्छ । ४० प्रतिशत जलेकालाई बचाउन गाह्रो हुन्छ । चिकित्सकहरुका अनुसार गणेशको शरीरको ६० प्रतिशत भाग जलेको थियो । यसतर्फ सरकारको ध्यान गएन । किनकी यो सरकार गरिबका लागि होइन । गरिब हुनु अपराध गर्नु होइन, तर याे सरकारले गरिबमाथि अपराधीलाई जस्तै व्यवहार गर्छ । कसैले पनि आफ्नो क्षमता भन्दा ठूलो भारी बोक्न सक्दैन । औसत पारिश्रमिक भन्दा बढी जरिवाना तिराउने राज्य आतंक रोकिएन भने यसले थप क्षति पुर्‍याउनेछ । वर्तमान सरकारको अलिअलि बाँकी रहेकाे अस्तित्व पनि सकिनेछ ।

वर्तमान सत्ता भयको पर्याय

वर्तमान सरकार गठन भएको १०० दिन नाघिसकेको छ । सय दिनमा सुनाउने खालको काम धेरै भएको सुनियो तर जनताको आँखाले देख्ने खालको कुनै काम भएको छैन । जनताको कुनै पनि समस्या समाधान भएन । सय दिनमा यति काम भयो भनेर प्रधानमन्त्रीले जनता समक्ष आएर भन्न लायक कुनै काम भएन । त्यसैले प्रधानमन्त्री बालेन्द्र अहिले अर्धभूमिगत झैं छन् । 

यो सरकारले जनतालाई हैरानी बाहेक केही दिएको छैन । शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीमा कर बढाएर जनताको आधारभूत आवश्यकतामाथि नै खेलवाड गर्दैछ ।  गरिबमारा नीति बनाइरहेकाे छ ।

राजधानीका अत्यावश्यक संरचनाहरु नै यस्तो ठाउँमा बनाइएको छ कि २ मिनेट गाडी रोक्न पाइँदैन । एटिएमबाट पैसा निकाल्दा, ट्वाइलेट जाँदा समेत ट्राफिक कारबाहीमा परिने डर बोकेर हिड्नुपर्ने अवस्था छ । नीति बनाउनुअघि त्यसले पार्ने प्रभावको विश्लेषण र मूल्यांकन हुनुपर्छ, त्याे नीति कार्यान्वयन गर्दा जनतामा पर्ने प्रभावको पूर्व समीक्षा गर्नुपर्छ । तर यसतर्फ सरकारको ध्यानै छैन । नागरिकको रक्षक हुनुपर्नेमा वर्तमान सरकार भयको पर्याय बन्दैछ । गणेश नेपाली जस्ता युवाको ज्यान लिँदैछ । यदि सबै नागरिकको अभिभावक बन्न सकेन, देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्ने वातावरण बनाउन सकेन, औसत पारिश्रमिक भन्दा धेरै जरिवानाको चिट भिराउने खेल बन्द गरेन भने यो सरकार इतिहासकै क्रुर सरकार र शासक बन्नेछ । 

अन्त्यमा, 

अब बालेन सरकारले गणेश नेपालीको आत्मदाहको छानविन गर्न शायद एउटा आयोग बनाउला । प्रधानमन्त्री बालेन शाहसँग अलिकति नैतिकता छ भने उनले गणेश नेपालीको आत्मदाहकाे घ६नाप्रति राज्यकाे तर्फबाट सार्वजनिक रुपमै माफी माग्नुपर्छ । सामाजिक सञ्जालमा स्टाटस लेख्न सक्लान् । तर, यो विषयमा प्रधानमन्त्री बालेनले संसद्‍मा गएर नबोल्लान् । गरिबको विषयमा बोल्ने फुर्सद छैन बालेनलाई । किनभने उनी काममा व्यस्त छन्, बालेन बोल्ने होइन काम गर्ने प्रधानमन्त्री हुन् । उनको एउटा काम देख्न पाइयो, गणेश नेपालीलाई आत्मदाह गर्न वाध्य पार्ने काम । यदि बालेन बोलिहाले पनि देशको हितविपरित र गरिबलक्षित बोल्नेछन् ।

आज गणेश नेपाली जलेको होइन देश जलेको हो । देश जलाएर सत्तामा पुगेको वर्तमान सरकारले यस्तै हो भने बाँकी रहेको सबै चिज जलाएर खरानीको व्यापार गर्ने खतरा छ ।

कानूनी राज्यको धज्जी नउडा सरकार । नेपाली नागरिकलाई आत्महत्या र आत्मदाह गर्न वाध्य पार्ने अपराधी काम बन्द गर सरकार ! 

गणेश नेपाली र उनको परिवारलाई न्याय दे सरकार !!

प्रतिकृया दिनुहोस