वम विष्फोट झन रहस्यमय : कांग्रेस मौन, गगन र विश्वप्रकाश समेत बोलेनन्
काठमाडौं । रहस्यमय वम विष्फोटन र आगजनीसँगै अर्काे रहस्यमय चलखेल सतहमा आएको छ । अर्काे रहस्य हो– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मौनता ।
एकजनाको ज्यान जाने गरी भएको शुक्रवारको वम विष्फोट र देशव्यापी आगजनीका घटनाप्रति नेपाली कांग्रेस सम्पूर्ण रुपमा मौन बसेको छ । मृतकप्रति श्रद्धान्जली र घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना भन्नलाई समेत कांग्रेस नेताहरुले कन्जुस्याईं गरिरहेका छन् ।
घटना भएको एक दिन बित्न लाग्दा पनि कांग्रेसले न कुनै विज्ञप्ति जारी गरेको छ न कांग्रेस नेताहरु बोलेका छन् ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा पोखरामा थिए । उनले त्यहाँ कांग्रेस भ्रातृ संगठन नेपाल प्रेस युनियनको कार्यक्रममा बोले । उनले अरु विषय बोले तर वम विष्फोट गराई नागरिकको हत्या गरिएको सम्वन्धमा एक शब्द बोलेनन् ।
फेसबुक र ट्वीटरमा सक्रिय रहने तथा समकालीन घटनाहरुमा तत्काल प्रतिक्रिया दिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अहिलेसम्म मुख खोलेका छैनन् । उनी पनि पश्चिमाञ्चलमा विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । यो समाचार तयार पार्दासम्म उनले पनि वमकाण्ड सम्वन्धमा मुख खोलेको समाचार आएको छैन ।
गत माघ १९ मा कांग्रेस भ्रातृ संगठनले सरकारी मोटर आगजनी तथा तोडफोड गर्ने काम देशव्यापी रुपमा गरेको थियो । कांग्रेस नेता गगन थापाले आफ्नै पार्टीबाट गराइएको हिँसाको घटनाको कडा विरोध गरेका थिए । तर, शुक्रवारको वम विष्फोटको घटनाको भने अहिलेसम्म भत्र्सना गरेका छैनन् ।
विवेकशील दल र विवेकशील साझा पार्टीले भने घटनाको विरोधमा विज्ञप्ति दिइसकेका छन् । त्यसैगरी मानव अधिकार तथा शान्ति समाज लगायतका विभिन्न संघसंस्थाहरुले घटनाको भत्र्सना गरेका छन् ।
आतंककारी शैलीको अस्वाभाविक हिँसात्मक घटना हुँदा समेत कांग्रेस बोल्न डराउनु या नचाहनुले मुलुकको शान्ति र स्थिरता विरुद्ध गम्भीर षडयन्त्र भइरहेको आशंकालाई बल पुगेको छ ।
मुलुकको शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्दा प्रमुख प्रतिपक्षी कांग्रेसले तत्काल सरकारलाई सचेत गराउनुपर्नेमा त्यसो गरेको छैन । बरु मौन रहनुले वम काण्ड तथा परिस्थितिलाई रहस्यमय बनाएको छ ।
कांग्रेस उपसभापति विजय कुमार गच्छदारले वम काण्ड बारे अनौठो प्रतिक्रिया दिएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले घटनाको निन्दा या विरोध गरेनन् । बरु, जसले यस्तो घटना गराएको हो उसँग सरकारले वार्ता गर्नुपर्छ भनेका छन् ।
अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । यस्तो अवस्थामा गच्छदारले वार्ता गर्नुपर्छ भनेर परिस्थितिलाई झन रहस्यम बनाएका छन् ।
आपराधिक तथा व्यक्ति हत्याका घटनामा दोषीलाई तत्काल कारवाही गर भनेर सरकारलाई दवाब दिनुपर्ने जिम्मेवारी बोकेको प्रमुख प्रतिपक्षी कांग्रेसको यो अस्वाभाविक व्यवहारले मुलुकको शान्ति र स्थिरतामा खलल आउने चिन्ता बढेको छ ।
समग्र कांग्रेस पार्टी तथा यसका नेताहरुको मौनताले शुक्रवारको वम विष्फोट तथा आगजनीका घटना झन रहस्यमय बनेको छ ।
(नेपाली कांग्रेसको आधिकारिक धारणा आएमा यस समाचारको अन्त्यमा थप गरिने छ– सम्पादक)
कांग्रेस नेता गगन थापा हिँसात्मक घटना विरुद्ध उभिएका छन् र उनले आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
गगनकाे विचार - आतंक विरुद्ध उभिए गगन थापा
याे पनि पढाैं-
रमेश भन्छन्– यस्तो आतंककारी शैलीले तपाईंले भनेको समाजवाद आउँदैन कमरेड !
आतंककारी शुक्रबार: ‘केही हुँदैछ’ भन्ने आशंका सरकारलाई पहिले नै थियो


प्रतिकृया दिनुहोस