• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

रमेश भन्छन्– यस्तो आतंककारी शैलीले तपाईंले भनेको समाजवाद आउँदैन कमरेड !

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । एकजनाको ज्यान लिने गरी गराइएको वम विष्फोट तथा आगजनीका घटनालाई युवा संघ नेपालले ‘आतंककारी शैली’ भनेको छ । 

शुक्रवार ललितपुरको नक्खुमा गराइएको वम विष्फोटमा एकजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । त्यसैगरी देशका विभिन्न भागमा टेलिफोन सेवा प्रदायक एनसेलका दर्जनभन्दा धेरै टेलिफोन टावर ध्वस्त पारिएको छ । 

सो घटनाको निन्दा गर्दै सत्तारुढ नेकपाको भ्रातृ संगठन युवा संघका अध्यक्ष रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘राजनीतिको आवरणमा हुने जुनसुकै अपराधिक र हिँसात्मक घटनाको हामी घोर भत्सर्ना गर्दछौं ।’ 

वर्तमान सरकारले समृद्धिको अभियान चलाइरहेको बेला हिँसात्मक घटना गराइनु घोर निन्दनीय भन्दै रमेशले सनराइज खबरसँग भने– ‘केही सातापछि देशमा लगानी सम्मेलन हुन गइरहेको छ । लगानी सम्मेलन भाँड्ने, हिँसा फैलाउने र असुरक्षा पैदा गर्ने सुनियोजित उद्देश्यले वम विष्फोट र आगजनी गरिएको देखिन्छ ।’

यो घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन र यस्ता घटना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले गर्दै आइरहेको छ । युवा संघको विज्ञप्तिमा विप्लव समूहको उल्लेख छैन तर संकेत भने छ । रमेश भन्छन्– ‘यो आतंककारी शैलीको घटनाको जिम्मेवारी कसैले नलिए पनि हामी अनुमान गर्न सक्छौं ।’

उनले भने– ‘यस्ता आतंककारी शैलीका अभियानले तपाईंले भनेको समाजवाद आउँदैन कमरेड ! यस्ता काम छाडेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछौं ।’
युवा संघले आतंककारी शैलीको काम गरेर व्यक्ति हत्या गर्नेहरुलाई कानुनको दायरामा ल्याई कडा कारवाही गर्न पनि सरकारसँग माग गरेको छ ।
 

प्रतिकृया दिनुहोस