• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

यसकारण गराइयो गोकुल बाँस्कोटाको घरमा विष्फोट

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट कसले गरायो भन्ने प्रष्ट छ । यस्तो विष्फोट विप्लव समूहले गर्ने गरेको छ ।

यदि विप्लव समूहले नगरेको हो र अरु कुनै समूहले गरेको हो भने त्यसले झन गम्भीर प्रश्न खडा गर्छ । यदि विप्लव समूहले होइन भने नयाँ आततायी समूह जन्मिएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।

आतंककारी गतिविधि सम्बन्धमा अध्ययन गरेका प्रहरी अधिकारीहरु भन्छन्– यो विष्फोट विप्लव समूहले नै गराएको हो ।

उनीहरुका अनुसार विप्लव समूहले गर्ने विष्फोटको मुख्य दुई उद्देश्य देखिन्छ । पहिलो हो– पैसा असुल्ने, दोस्रो हो– प्रचार गर्ने ।

प्रचारात्मक बम विष्फोटबाट पनि आतंक सिर्जना गरेर पैसा असुल्नु नै विप्लव समूहको उद्देश्य रहने गरेको प्रहरीहरु बताउँछन् । गोकुल बाँस्कोटाको घरमा विष्फोटको उद्देश्य प्रचार र वाहवाही पाउनु नै रहेको प्रहरी अधिकारीहरुको निष्कर्ष छ । केही समय अघि एउटा अडियो प्रकरण सार्वजनिक भएपछि गोकुलले सञ्चार मन्त्री पदबाट राजीनामा दिएका थिए । कुनै दम नभएकाले सो प्रकरण फासफुस भएपछि गोकुलले राजनीतिमा पुन दह्रो पुनरागमन गर्न सक्ने संकेत देखिँदैथ्यो । त्यसकारण पनि उनको घरलाई निसाना बनाइएको हुनसक्ने आकलन गरिएको छ ।

गाेकुलकाे राजनीतिमा पुनरागमन नहाेस् भन्नेहरुबाट विप्लव समूह प्रेरित भएकाे अ‌ाशंका गर्न सकिने ठाउँ पनि देखिएकाे छ ।

‘कम्युनिष्ट आवरणका आततायीहरुले सस्तो लोकप्रियता हासिल हुने खालका हर्कत् गर्छन्, विगतमा प्रचण्ड–बाबुरामको माओवादीले पनि त्यसै गर्थ्याे । त्यसैको निरन्तरता हो यो’– राजनीतिशास्त्रका अध्यापक नरसिंह कार्की भन्छन् । 

याे पनि पढाैं :- 

विप्लवको ‘हिटलिस्ट’ मा लोकमान देखि विष्णु पौडेलसम्म

गोकुल बाँस्कोटाको घरमा बम विष्फोट  

उनका अनुसार आफूलाई भ्रष्टाचार विरोधी देखाउने, सत्तापक्षलाई भ्रष्ट देखाउने र भ्रष्टाचारीलाई कारवाही भएन भन्ने जनआवाजमा साथ दिए जस्तो गर्ने कुटिल चाल अनुसार गोकुल बाँस्कोटाको घरमा विष्फोट गराइएको देखिन्छ ।

विप्लव समूहले बालुवाटार जग्गा घोटाला काण्डमा मुछिएकाहरुमध्ये कसैको घरमा वम विष्फोट गराउने आकलन सुरक्षा निकायहरुले गरेका थिए । विप्लव समूहले गत माघ १ मा बालुवाटार जग्गा घोटाल काण्डका नाइके शोभाकान्त ढकालको स्वयम्भू ढुंगेधारा स्थित घरमा विष्फोट गराएको थियो । 

मिनबहादुर गुरुङको भाटभटेनी, यती ग्रुप, गोयल समूह, विशाल ग्रुप, केडिया ग्रुप पनि विप्लव समूहको हिटलिस्टमा भएको प्रहरीको निष्कर्ष छ । 

याे पनि पढाैं :

गोकुलले ‘साँडे खालको दादागिरी मच्चाएको’ आरोप

विप्लव समूहको हिटलिष्टमा परेको भनेर गृह प्रशासनले अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सुरक्षा बढाइसकेको छ । अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकको घरमा पनि सुरक्षा बढाइएको छ ।

विवादमा परेका पात्रहरुलाई तर्साएर सस्तो लोकप्रियता हासिल गर्ने, व्यापारिक समूहहरुलाई थर्काएर असुली गर्ने विप्लव समूहको रणनीति पहिलेदेखि नै देखिँदै आएको छ । तर, यो समूह निरन्तर कमजोर बन्दै गएकाले उसले पर्याप्त संख्यामा विष्फोट गराउन भने सकिरहेको छैन । छिटफुट रुपमा यसरी गर्ने विष्फोटकै भरमा विप्लव समूहले ‘राजनीति’ टिकाइरहेको छ ।


 

प्रतिकृया दिनुहोस