विप्लवको ‘हिटलिस्ट’ मा लोकमान देखि विष्णु पौडेलसम्म
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अख्तियारको पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई हिटलिस्टमा राखेको छ ।
चन्दा आतंक तथा बम विस्फोटमा संलग्न सो समूहले अहिले सार्वजनिक रुपमा विवादमा परेकाहरुलाई कारबाही गर्ने भन्दै हिटलिस्ट बनाएको हो । सो लिष्टमा लोकमान लगायतका पूर्व प्रशासकका साथै नेता र व्यापारी समेत छन् ।
लोकमानलाई सर्वोच्च अदालतले प्रमुख आयुक्तबाट पमदुक्त गरेको थियो । सो लगत्तै क्यानडा लागेका उनी अहिले काठमाडौंमै छन् । २४ पुस ०७३ मा सर्वोच्च अदालतले उनलाई अख्तियार प्रमुख बन्न अयोग्य भन्दै पदमुक्त गरेको थियो ।
विप्लव समूहले उनलाई कारबाहीको हिटलिस्टमा राखेपछि पुरानो बानेश्वरस्थित लोकमान निवास वरपर सुरक्षा बढाइएको छ ।
यस्तै सो समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई पनि कारबाहीका लिस्टमा राखेको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए ।
बालुवाटारस्थित ललिता निवास परिसरको १ सय १३ रोपनी जग्गा हडपिएको प्रकरणमा पौडेल पनि मुछिएका थिए । शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले साे प्रकरणमा पौडेल पनि संलग्न रहेको प्रतिवेदन बुझाएपछि उनी विवादमा तानिएका थिए ।
अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक पनि सो लिस्टमा छन् । अख्तियारको आयुक्त हुँदा पाठक घुसकाण्डमा मुछिएका थिए । उनी विरुद्ध विप्लव समूह लागेको खबरसँगै उनको घरमा सुरक्षा बढाइएको छ । प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि महानगरीय प्रहरी कार्यालयले पाठकको शान्तिनगरस्थित घरमा सुरक्षा सतर्कता बढाएको हो ।
विप्लव समूहको सो लिस्टमा व्यापारी पनि छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, व्यापारिक घराना गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, शोभाकान्त ढकाल, रामकुमार सुवेदी र गोपाल खनाललगायत सो लिस्टमा छन् ।
विप्लवका कार्यकर्ताले १ माघमा स्वयम्भु ढुंगेधारास्थित शोभाकान्त ढकालको घरमा बम विष्फोट गराएका थिए ।


प्रतिकृया दिनुहोस