• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विदेशी गीतमा विद्याको नाच, यस कारण मलाई पूर्व राष्ट्रपति विद्या भण्डारी मन पर्दैन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

-विकास अधिकारी

काठमाडौं । एकाएक कसैको चर्चा व्यापक हुन्छ भने त्यहाँ दुईवटा कुरा हुन्छ । कित राम्रो कामको चर्चा, कित नराम्रो कामको चर्चा ।
यदि दुईवटै कुरा विना पनि कसैको चर्चा व्यापक हुन्छ भने त्यहाँ अवश्य रहस्य हुन्छ ।

हो, अहिले नेपाली राजनीतिमा विशेष गरी एमाले पार्टीमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको चर्चा एकदमै छ । उहाँ राम्रो काम गरेर चर्चामा आउनु भएको पनि होइन । तर नराम्रो काम गरेर चर्चामा आउनु भएको पनि होइन । तर पनि उहाँको चर्चा चाहिँ अहिले व्यापक छ । त्यसै कारण मलाई लाग्छ, उहाँको चर्चा रहस्यमयी हो ।

पूर्व राष्ट्रपति विद्या देवी भण्डारी राजनीतिमा आउनु नआउनु उहाँको निजी कुरा हो । भोलिको दिनमा उहाँलाई एमालेको विधानले पुनः राजनीतिमा सक्रिय गराउला नगराउला, त्यो आजको दिनसम्म पनि अन्यौल नै छ । तर उहाँभित्र राजनीति र पदको जुन लोभ-लालच छ, त्यो भने पक्कै पनि सायद बहुसंख्यक नेपालीलाई मन पर्ने कुरा होइन जस्तो मलाई लाग्दैन ।

खासमा भन्दा, पछिल्लो समय अहिले विद्या भण्डारीमा जुन खालको राजनीतिमा आउने इच्छा जागेको छ, मेरो विचारमा त्यो इच्छा उहाँमा आउनु नै मलाई विद्या भण्डारी मन नपर्नु हो ।
फेरि कोही व्यक्ति मलाई मन पर्नु वा नपर्नु भन्ने कुरा मेरो निजी विचार हो ।

कुनै व्यक्तिको इच्छा-आकांक्षा असिमित हुन्छ । व्यक्तिगत इच्छा-आकांक्षा असिमित हुनु स्वाभाविक नै हो । तर संस्थागत रूपमा एउटा व्यक्तिलाई पटक-पटक पावर र पदको इच्छा किन जाग्छ, त्यो चाहिँ अचम्मको कुरा हो ।

एक नारीले नेपालको पहिलो महिला राष्ट्रपति हुने इच्छा गर्नु भयो, त्यो पूरा भयो । अर्को कार्यकाल पनि राष्ट्रपति हुने इच्छा गर्नु भयो, त्यो पनि पूरा भयो । अनि अहिले राष्ट्रको अभिभावक भएर बस्नु पर्ने कुरामा फेरि कुनै पार्टीको अध्यक्ष बन्छु र मौका परे प्रधानमन्त्री बन्छु भन्ने चाहिँ, त्यो उहाँको असिमित इच्छा हो । त्यो उहाँको कु-कर्म नै हो भन्दा पनि फरक पर्दैन ।

आजको दिनसम्म पनि केही राम्रो काम गरेको इतिहास उहाँमा नभए पनि काम विगारेको उहाँमा दोष पनि गएको छैन ।
उहाँ पार्टीमा पदाधिकारी भएर धेरै समय काम गर्दा पनि, र सरकारको मन्त्रिमण्डलमा बसेर काम गर्दा पनि उहाँले कुनै त्यस्तो गतिलो काम गरेको र गतिलो भाषण गरेको देखिएको छैन, सुनिएको छैन ।

पार्टीमा उपाध्यक्ष हुँदा कसरी पार्टी बलियो बनाउने भन्ने कुरा सुनेको पनि छैन । त्यस्तो व्यक्तिलाई पार्टीले उपाध्यक्ष हुँदै, दुई-दुई कार्यकाल बोकेर राष्ट्रपति बनाउँदा पनि, फेरि अझै नपुगेर एमाले अध्यक्ष र मौका परे प्रधानमन्त्री बन्छु भनेर आउनु  कत्तिको उचित हुन्छ ? त्यस्ता व्यक्तिलाई कसरी मन पराउनु ?

नचिनिने स्वभाव

पूर्व राष्ट्रपतिले कुनै राम्रो काम नगरे पनि, कुनै काम विगारेको जस्तो लाग्दैन थियो । उहाँ जहिल्यै सरल भाषामा शान्तसँग नै कुरा गर्नु हुन्थ्यो । कहिल्यै विवादमा आउनु भएन । मदन पत्नी भएर पनि उहाँमा धेरैको सहानुभूति अवश्य थियो । सधैँ नरम नै हुनुहुन्थ्यो । सहनशीलता नै लाग्थ्यो । तर उहाँको केही दिन देखिको उग्र इच्छा भने अहिले धेरैको टाउको दुख्ने विषय बन्न पुगेको छ । अहिले उहाँ जतिसुकै पद पाए पनि नअघाउने, उहाँभित्रको अहंकार अहिले चिन्न नसकिने भएको छ । भोलिको दिनमा पूर्व राष्ट्रपति लगायत देशको सर्वोच्च पदमा पुगेका मानिसलाई अहिले उहाँबाट जुन कामको सुरुवात भएको छ, त्यो पक्कै पनि घातक नै छ ।

विदेशी गीतमा विद्याको नाच

पूर्व राष्ट्रपतिको विगत हेर्दा, उहाँले कुनै पनि पार्टी गतिलोसँग हाँक्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन । अहिलेको सरकारले राष्ट्रियताको विषयमा आवाज उठाइरहँदा, उहाँको चौतर्फी आलोचना हुनु र त्यो बीचमा विद्या भण्डारी राजनीतिमा आउनु भनेको विदेशीको गीतमा विद्या भण्डारीको नाच नै हो भन्ने अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय विदेशी शक्तिले नेपालबाट केही फाइदा लान सकेका छैनन्, कारण बलियो सरकार हो । र अब फेरि पनि लान सक्ने कुनै सम्भावना छैन । यही बीचमा पटक-पटक अवसर पाउँदा पनि फेरि राजनीति र शक्ति–पावरको खेलमा लाग्नु भनेको पक्कै पनि आँकलन गर्न सकिन्छ कि अहिले विद्या भण्डारी विदेशी गीतमा नेपाली नाच नाच्दैछिन् भनेर । त्यसमा हामी सचेत रहनु पर्छ ।

अहिले नेपाली जनताले युवा खोजिरहको बेला, देशको सर्वोच्च पदमा पुगेको मानिसले नै यसरी लोभ-लालच गर्न थालेपछि पुस्तान्तरणमा ध्यान नदिने हो भने उहाँको यो पक्कै पनि विदेशी गीतमा नेपाली नाच नै हो ।

प्रतिकृया दिनुहोस