शेखर कोइराला, विश्वप्रकाश र गगन एकै ठाउँ उभिए के हुन्छ ?
काठमाडौं । कांग्रेसभित्र नयाँ समीकरणको उदय हुने अवस्था देखिएको छ । नयाँ समीकरणका तीन पात्र हुन्– शेखर कोइराला, विश्वप्रकाश शर्मा र गगन थापा । कांग्रेसका यी तीनजना लोकप्रिय व्यक्ति एकै ठाउँमा उभिए भने के हुन्छ ?
शेखर र गगनको निकटता
गत महाधिवेशन सकिनासाथ शेखरले आउँदो महाधिवेशनका लागि तयारी थालेका थिए । काठमाडौंमा थोरै र जिल्लामा धेरै समय बिताउन थाले । जिल्लामा कार्यकर्ता र केन्द्रमा युवा नेताहरुलाई शेखरले ताके । ती मध्येका दुईजना थिए– विश्वप्रकाश र गगन । कांग्रेसको नयाँ पुस्तामा सर्वाधिक लोकप्रिय यिनै दुई हुन् ।
तर, यी दुवै नेता बाहिर देखिने गरी शेखरको साथमा छैनन् । शेखरको साथमा बलिया र शक्तिशाली नेता कोही थिएनन्, अहिले पनि छैनन् । शेखरको समस्या नै यही हो, देउवा विरोधी रामचन्द्र पौडेल गुटमा शेखरलाई ठाउँ छैन । शेखरसँग कार्यकर्ता छन् तर नेता छैनन् ।
आउँदो महाधिवेशनमा सभापतिका प्रबल दावेदारका रुपमा शेखर उदाइसके । तर, उनले देउवा विरोधी क्याम्पबाट शशक्त टिम बनाउन सक्ने अवस्था अहिलेसम्म देखिएको छैन । त्यसैले उनको निकटता गगनसँग झन बढ्नु स्वाभाविक भएको छ । गगनसँग मिलेर टिम बनाउने हो भने शेखरको शक्तिमा ‘चार चाँद’ लाग्न सक्छ ।
गगनको पनि समस्या छ, गगनसँग पनि गुट छ, कार्यकर्ता पनि छन्, लोकप्रिय पनि छन् तर महाधिवेशनमा एक्लै उभिन सक्ने टिम छैन । सिटौला समूहबाट गगनले आफूलाई गत महाधिवेशनमा परीक्षण गरिसहेका छन् । त्यही टिमबाट उम्मेदवार बन्नुको अर्थ छैन । देउवाको टिममा जान गगन सक्दैनन्, रामचन्द्रको टिमले उनलाई ठाउँ दिँदैन । त्यसैले नयाँ समीकरण बनाउनुपर्ने वाध्यतामा छन् गगन । त्यसैले गगन पनि शेखरसँग निकट बन्दै छन् ।
सिटौला समूह के हुन्छ ?
कांग्रेसमा सिटौला समूह निर्णायक छैन तर शशक्त छ । सिटौला र गगन दुवैको व्यक्तिगत सम्पर्क व्यापक छ । अरु गुटकाले पनि उनीहरुलाई इग्नोर गर्न सक्दैनन् । गुटका रुपमा सिटौला समूह अहिले पनि शशक्त छ भन्ने नेवि संघमा अहिले देउवा गुटलाई दिइरहेको काउन्टरबाट पनि देखिन्छ ।
‘सिटौला समूह सकिँदैन, सिटौला र गगन पनि छुट्टिँदैनन्,’– सिटौला समूहप्रति सहानुभूति राख्ने एक युवा नेताले सनराइज खबरलाई बताए । उनको विश्लेषण छ– ‘सिटौला समूहले शेखरलाई साथ लिन्छ, सिटौला आफै सभापतिको उम्मेदवार बन्ने पक्षमा देखिँदैनन्, उनी केन्द्रिय सदस्यमा मात्र उम्मेदवार बन्छन् ।’
तथापि, गुट र व्यक्तिगत शाख जोगाइराख्न सिटौलाले पनि सभापतिको उम्मेदवार बन्छु चाहिँ भनिरहेकै छन् । त्यसो त गगनले पनि ‘आवश्यक परे सभापतिमै उम्मेदवार बन्छु’ भनिसकेका छन् । खासमा चाहिँ गगन महामन्त्रीकै उम्मेदवार बन्ने उनी निकटहरु सबैजसोले भनिरहेका छन् ।
जानकारहरु भन्छन्– शेखरसँग गगन एक्लै मिल्दैनन्, सिटौला पनि मिल्ने हुन् । अर्थात्, शेखर र सिटौलाको समूह मिल्न सक्छ र उम्मेदवारका रुपमा सभापतिमा शेखर र महामन्त्रीमा गगन देखिन सक्छन् ।
यस्तो समीकरणको ढोका कांग्रेसभित्र लगभग खुलिसकेको छ । यो समीकरणले तब मात्र गोल हान्न सक्छ जब यसमा विश्वप्रकाश मिसिने छन् ।
विश्वप्रकाश कता ?
शेखर सभापतिको उम्मेदवार बनेको अवस्थामा रामचन्द्र समूहले के गर्छ ? कांग्रेसमा अहिले सबैले खोजिरहेको जवाफ यही हो । सभापतिको उम्मेदवारीबाट रामचन्द्र ब्याक हुने सम्भावना अहिलेलाई खासै छैन ।
शेखर र रामचन्द्र दुवैजना उम्मेदवार बनेमा शेरबहादुर देउवाले बाजी मार्न सक्ने आकलन कांग्रेसभित्र धेरैले गरिरहेका छन् । त्यसैले देउवा समूहलाई चेपुवामा पार्नुपर्ने हुन्छ । यसका लागि सबैभन्दा उपयुक्त पात्र ठानिएका छन् विश्वप्रकाश शर्मा ।
देउवा खेमामा रहे पनि विश्वप्रकाशको निकटता डा. शशांकसँग भएको बताइन्छ । शेखरसँग पनि उनको निकट सम्वन्ध छ । देउवाको टिममा विश्वप्रकाश खासै फिट छैनन् । किनभने सो टिममा महामन्त्रीका अन्य शशक्त दावेदार पनि छन् । कांग्रेसमा निर्णायक मानिएको हालैको एउटा विवादमा देउवा खेमासँग विश्वप्रकाश सहमत देखिएनन् । त्यो विवाद हो– केन्द्रिय सदस्य स्वत महाधिवेशन बन्नुपर्छ भन्ने विधानको प्रावधान ।
यस्तो प्रावधान विरुद्ध विश्वप्रकाश सार्वजनिक रुपमै उभिए । देउवाको टिममा आउँदो महाधिवेशनमा प्रतिनिधि बन्न आँट नगर्नेहरुको संख्या ठूलै छ । उनीहरु चुनाव नलडी महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने पक्षमा थिए, विश्वप्रकाश विपक्षमा लागे ।
पार्टीभित्र प्रभावशाली र लोकप्रिय मानिएका विश्वप्रकाशसँग देशव्यापी मत भएको ठानिन्छ । विश्वप्रकाश बाहिरिए भने देउवाको टिम पूरै कमजोर हुने आकलन गरिएको छ । विश्वप्रकाश र गगन दुवै महामन्त्रीको उम्मेदवार बन्ने बताइएको छ । जुनसुकै खेमाबाट उम्मेदवार बने पनि विश्वप्रकाश र गगन दुवैले महामन्त्रीमा एक अर्कालाई सहयोग गर्ने भनिरहेका छन् ।
सम्भव छ
‘पार्टीभित्र विकसित पछिल्लो परिवेशले शेखर, गगन र विश्वप्रकाशलाई एक ठाउँ ल्याउने देखियो’– विश्वप्रकाश र गगनका प्रतिस्पर्धी एक युवा नेताले सनराइज खबरसँग टिप्पणी गरे । उनका अनुसार महाधिवेशन आउन समय धेरै बाँकी भए पनि नेताहरुलाई ‘चुनाव’ लागिसकेको छ । उनका अनुसार पार्टीभित्र सबैभन्दा धेरै चुनाव चाहिँ शेखर, विश्वप्रकाश र गगनलाई नै लागेको छ ।
‘यी तीनजना एक ठाउँ आउन सक्छन्, यसको प्रबल सम्भावना देखियो’– उनी भन्छन्– ‘यो तीनजना एक ठाउँ आए भने त्यसको भित्री कमाण्ड चाहिँ कृष्णप्रसाद सिटौलाले समाल्नेछन् ।’
याे पनि पढाैं-


प्रतिकृया दिनुहोस