• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कांग्रेसमा पहिले गुट हावी थियो, अहिले गिरोह हावी छ

मेदनी सिटाैला

मेदनी सिटाैला

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वाश गर्न सकिने अवस्था छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वलाई विश्वाश गर्न सकिने अवस्था छैन । छिमेकी देशहरुलाई विश्वाश गर्न सकिने अवस्था छैन । विश्वका महाशक्तिहरुलाई विश्वाश गर्न सकिने अवस्था छैन । अमेरिकी मन्त्री आउँछन्, जापानी मन्त्री आउँछन्, नेपाल फस्ने हो कि भन्ने डर हुन्छ । जसो गरे पनि असहज परिस्थितिमा नेपाल फस्दैछ । यस्तो अवस्थामा बाटो कसले देखाउने ? 

बाटो देखाउने नेपाली कांग्रेसले हो । यसको ठोस कारण छ ।

कांग्रेसले देखाएकाे बाटाे

०४८ सालमा कांग्रेसको बहुमतको सरकार बन्यो । त्यसले प्रजातान्त्रिक सरकार कस्तो हुन्छ भन्ने देखायो । खुला र उदार अर्थनीतिबाट देशलाई समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ भन्ने देखायो । मुलुक निर्माणमा निजी क्षेत्रको मुख्य भूमिका हुन्छ भन्ने तथ्य स्थापित गर्यो । त्यो सरकारकै पदचिन्हमा त्यसपछिका सरकारहरु चल्न थाले । पछिपछिका सरकारहरु पनि लोककल्याणकारी राज्यको अवधारणा अनुसार यथासम्भव काम गर्न वाध्य भए । 

कांग्रेसले प्रजातान्त्रिक सरकार कस्तो हुन्छ भन्ने मानक स्थापित गरिदियो । कांग्रेसले देशलाई सिकायो, सबैलाई सिकायो, बाटो देखायो । 

नेपालको तीन दशकको मुख्य समस्या सुशासन नहुनु हो । सुशासनको अभावमा राज्य प्रभावकारी बन्न सकेन, राज्य कमजोर बन्दै गयो । यो तीन दशकमा मुलुकले प्रणाली पनि स्थापित गर्न सकेन । भएका प्रणाली भत्काइयो । संसदीय प्रणाली भत्काइयो, कम्युनिष्ट प्रणालीतर्फ देशलाई धकेल्न खोजियो । कम्युनिष्ट प्रणाली त आएन, बरु राजाको तानाशाही आयो । 

प्रणाली स्थापित गराैं

प्रणाली स्थापित गर्ने मामिलामा एउटा मुख्य भुल प्रभावकारी प्रतिपक्षी नहुनु थियो । सरकार कमजोर भयो भने मुलुक कमजोर हुन्छ भन्ने तथ्य हामीले बुझ्यौं तर प्रतिपक्षी कमजोर भयो र गलत बाटो गयो भने प्रणाली स्थापित हुन सक्दैन भन्ने चाहिँ हामीले बुझिरहेका छैनौं । जसरी विगतमा प्रजातान्त्रिक सरकारको मानक कांग्रेसले स्थापित गर्यो, त्यसैगरी अहिले मौका आएको छ– कांग्रेसले असल प्रतिपक्षीको मानक स्थापित गर्ने । 

के कांग्रेस असल प्रतिपक्षी बनेको छ ? यो प्रश्न उठाइनुपर्छ । उठाउनुपर्ने मुख्य मुद्दाहरुबाट कांग्रेस नेतृत्व भाग्छ, बरालिन्छ, नउठाए पनि हुने मुद्दाहरुलाई बेलुन फुलाए जसरी फूलाउँछ । पार्टीभित्र बहस छैन, छलफल छैन । असल र प्रभावशाली प्रतिपक्षी कसरी बन्ने भन्ने विषयमा कांग्रेसमा बहस छलफल उठान नै हुन सकेको छैन । 

कम्युनिष्टहरुले विरोधका लागि विरोध गर्छन्, कम्युनिष्ट शैलीकै विरोधले कांग्रेसको वैचारिक मौलिकता जोगिन सक्दैन । प्रतिपक्षीका रुपमा कांग्रेसले मौलिक शैली अपनाउन सक्नुपर्छ तर यो विषयमा पार्टीभित्र बहसमा बन्देज जस्तै अवस्था छ । 

गिराेहले लियाे गुटकाे ठाउँ 

संसद वैठक अवरोध गर्नु कांग्रेसको भूल थियो । संसदलाई काम गर्न नदिएर विगतमा कम्युनिष्टहरुले प्रणाली स्थापित हुन दिएनन् । हिजो कम्युनिष्टहरुले जे भुल र अपराध गरे, कांग्रेसलाई त्यहि बाटोमा लैजान खोजिँदैछ । 

लोकतान्त्रिक प्रतिपक्षीले आन्दोलन गर्नुपर्छ, जनता जगाउनुपर्छ, सरकारलाई खबरदारी गर्नुपर्छ, सरकारलाई वैचारिक कोर्रा हान्नुपर्छ तर ढुंगा होइन । कांग्रेसजनले नै गलत भन्नुपर्ने शैलीमा कार्यकर्तालाई नेतृत्वले आन्दोलनमा पठायो र पठाउन खोज्दैछ । कम्युनिष्ट शैली अपनाउन सिकाइयो । आजको कांग्रेस र हिजोको कम्युनिष्ट उस्तै हो भन्ने देखाउन खोजियो । यो गलत छ ।

मुख्य कुरा, कांग्रेसले आफूलाई भित्रैबाट सुधारेर उदाहरण देखाउनुपर्छ । पार्टी नेतृत्वले आफू व्यवहारबाटै र नियतबाटै लोकतान्त्रिक भएको देखाउन सक्नुपर्छ । अहिलेको कांग्रेस नेतृत्वले लोकतान्त्रिक शैलीले पार्टी चलाएको छ कि छैन ? यसै आधारमा प्रमुख प्रतिपक्षी धर्म कसरी निर्वाह गरिरहेछ भन्ने देख्न सकिन्छ ।

कांग्रेसमा हिजो दुईचारजना नेताले निर्णय गर्ने र अरुले ताली पिट्ने प्रथा थियो । त्यो प्रथा विरुद्ध बहुमतले निर्णय गर्ने प्रणाली चाहिएको थियो । अहिले केन्द्रिय समितिमा बहुमतले निर्णय गरिएको छ । बहुमतले निर्णय गर्नुलाई नराम्रो भन्न मिल्दैन । तर, बहुमतको पछाडि नियत के छ ? यो मुख्य हो । बहुमतको पछाडि नियत ठिक देखिएन ।

हामीले कस्तो बहुमत खोजेका हौं ? यसमा प्रष्ट हुनुपर्छ । कांग्रेस केन्द्रिय समितिले बहुमतबाट विधान पारित गर्यो, सतही रुपमा हेर्दा ठिक गरेको देखिन्छ, किनभने बहुमतको प्रयोग गरिएको छ । तर, नियालेर हेर्ने हो भने अल्पमतले बहुमतलाई निस्तेज पारेको देखिन्छ । 

महासमिति वैठकले जे म्याण्डेड दियो, केन्द्रिय समितिको बहुमतले त्यो म्याण्डेडलाई उल्लंघन गर्यो । अर्थात्, ठूलो समितिको बहुमतलाई सानो समितिको बहुमतले मिच्यो । केन्द्रिय समितिभन्दा महासमिति ठूलो हो । महासमितिको बहुमतलाई केन्द्रिय समितिको बहुमतले लागू हुन दिएन । यो सरासर तानाशाही हो । यसरी विधि, प्रकृया र बहुमत मिच्ने नेतृत्वले असल प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्छ भनेर कसरी विश्वाश गर्न सकिन्छ ?

गुटकाे ठाउँमा गिराेह

अहिले नेपालमा विभिन्न किसिमका एजेण्डाहरुको मार्केटिङ गर्ने अभियान चलिरहेको छ । सत्तारुढ नेकपा भित्र पनि विभिन्न एजेण्ड सुनियोजित रुपमा घुसाइएको छ । प्रतिपक्षी कांग्रेसभित्र पनि सुनियोजित रुपमा एजेण्डाहरु घुसाइएको छ । जसरी भए पनि वर्तमान संविधान र संसदीय प्रणालीलाई भत्काउने गरी एजेण्डाहरुको उठान भएको देखिन्छ । संसदीय प्रणाली भत्कँदा कम्युनिष्टहरु खुसी नै हुन्छन् होला तर कांग्रेसजन खुसी हुन सक्दैनन् । 

कांग्रेसले कुन एजेण्डाले संसदीय प्रणालीलाई बलियो बनाउँछ, कुन एजेण्डाले कमजोर बनाउँछ भनी पहिचान गर्न सक्नुपर्छ । सरकारका गलत कामको कसरी विरोध गर्ने भनेर खासखास तरिका अपनाइनुपर्छ । कांग्रेसले सरकारको गलत कामको विरोध कसरी गर्छ, त्यसले भविष्यमा प्रतिपक्षी पार्टी यस्तो हुनुपर्छ भन्ने मानक स्थापित हुन्छ, उदाहरण स्थापित हुन्छ । कांग्रेसले सत्तापक्ष कस्तो हुन्छ भन्ने मानक तथा उदाहरण स्थापित गरिसकेको छ, अब प्रतिपक्षी यस्तो हुन्छ भनेर मानक र उदाहरण स्थापित गर्नुपर्छ । 

यसका लागि पार्टीभित्र पद्धति संस्थागत हुनुपर्छ । पार्टी नेतृत्वले लोकतान्त्रिक आचरण देखाउनुपर्छ । 

अहिले हामी देखिरहेका छौं– सरकारले गन्हाएका र विवादास्पद छवीका मानिसहरुलाई विभिन्न नियुक्ति दिइरहेको छ । कांग्रेसले त्यसको विरोध गर्नुपर्छ । तर, कांग्रेसभित्रै पनि जिम्मेवारी दिइँदा गन्हाएका र विवादास्पदलाई दियौं भने सरकारको कसरी विरोध गर्न सक्छौं ? 

हामीले देखिरहेका छौं अहिले सरकार नेकपा पार्टीले नभएर गिरोहले चलाइरहेको छ, नेपाली कांग्रेस पनि गिरोहले चलाइरहेको देखिन्छ । यो अवस्थामा कांग्रेसजनले सरकारी गिरोहको विरोध गर्ने कि आफ्नै पार्टीभित्रको गिरोहको ? आफ्नो पार्टीभित्र चाहिँ गिरोह शैलीको अगाडि घुँडा टेकेर गिरोह शैलीको सरकारको विरोध गर्नु कत्तिको जायज हुन्छ ?

महासमितिकाे बहुमतलाई मिच्नु भनेकाे गिराेहवाद नै हाे । गिराेहले कांग्रेसलाई असल प्रतिपक्षीकाे भूमिका निर्वाह गर्न दिँदैन । गिराेहले पार्टी सिध्याउँछ ।

देशभरीका महासमिति सदस्यहरुको बहुमतलाई पार्टी नेतृत्व र आसपासमा बसेको एउटा सानो गिरोहले मिचेको छ । कांग्रेसमा विगतमा गुट थियो तर गिरोह थिएन । अहिले पार्टीमा गुट हावी भएको छैन, गिरोह हावी भएको छ । गिरोहभित्र परिवार हावी भएको छ । विगतमा परिवारवादको नारा उछालेर नेतृत्वमा आएकाहरु नै कसरी परिवारवादको दलदलमा फसे भन्ने कांग्रेसजनले देखेकै हुन् । गिरोहवाद र परिवारवादको दलदलमा बसेर असल प्रतिपक्षीको भूमिका कसरी निर्वाह गर्न सकिन्छ ?


( मेदनी सिटौला नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेवि संघका पूर्व उपाध्यक्ष हुन् )

याे पनि पढाैं-

शेखर कोइराला, विश्वप्रकाश र गगन एकै ठाउँ उभिए के हुन्छ ?

प्रतिकृया दिनुहोस