समाज
‘नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन तथा बीटूबी एक्सचेन्ज’ कार्यक्रम सम्पन्न
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा ‘नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन र बीटूबी एक्सचेन्ज’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ ।
कात्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म आयोजना गरिएको उक्त कार्यक्रमले दुई देशबीचको पर्यटन पुनरुत्थानका साथै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा साझा रणनीतिका साथ अघि बढ्ने निष्कर्ष निकालेको पाटा नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ ।
पाटाको दुवै देशका च्याप्टरबीचको संयुक्त सहकार्यमा काठमाडौंमा सम्पन्न उक्त कार्यक्रम कोभिड–१९ पश्चात्को पर्यटन पुनरुत्थानका लागि आवश्यक पहलका रूपमा दुई छिमेकी राष्ट्रबीचको आन्तरिक र बाह्य पर्यटनलाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एकअर्काका गन्तव्य प्रवद्र्धन गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
पाटा नेपालले आफ्ना सदस्य र साझेदार संस्थाहरूको सहयोगमा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटरहरू, दुई सञ्चारकर्मी र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका दुई विद्यार्थीसहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरेको थियो ।
उक्त कार्यक्रमअन्तर्गत यही मङ्सिर १ गतेदेखि ३ गतेसम्म बङ्गलादेशी प्रतिनिधिहरूका लागि आयोजना गरिएको पोखराको परिचयात्मक भ्रमणका क्रममा मंसिर २ गते होटेल बाराहीमा पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवाप्रदायकहरुको उत्साहजनक सहभागितासहित ‘पर्यटन नेटवर्किङ र अन्तरक्रिया सत्र’समेत आयोजना गरिएको थियो ।
औपचारिक कार्यक्रमको प्रारम्भमा पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटन पुनरुत्थान कार्ययोजनाका रूपमा तत्काल ‘क्षेत्रीय यात्रा’लाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो र वर्तमान परिप्रेक्ष्यमा नै पर्यटकहरु र गन्तव्य व्यवस्थापन संस्थाहरू वा सेवाप्रदायकहरूका लागिसमेत सबैभन्दा उपयुक्त सोही बाटो भएको औँल्याउनुभयो ।
उहाँले लामो दूरीको यात्रा ‘रिकभर’ हुन अलि बढी समय लाग्ने भएकाले सडक वा छोटो दूरीको उडानबाट पुग्न सकिने नजिकका गन्तव्यहरुलाई पर्यटन पुनः सञ्चालन एवं पुनरुत्थान गर्न बढी अवसर रहेको उल्लेख गर्दै नेपाल–बंगलादेश एक घण्टाभन्दा कम उडान समयले नजिक भएको अवस्थामा यस सहकार्यमार्फत दुई देशबीचको पारस्परिक आन्तरिक तथा बाह्य पर्यटनको व्यावसायिक सम्भावनालाई सुदृढ गर्न नयाँ मार्गनिर्देशन हुने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल र बंगलादेशका पाटा च्याप्टरले क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि आवश्यक र समयसापेक्ष पहल गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले नेपाल र बंगलादेशमा पर्यटन फस्टाउनका लागि नेपालले आफ्नो सहयोगी मार्केटिङ र प्रवर्द्धनात्मक कार्यक्रमहरू बढाउनुपर्ने, यात्राहरू आयोजना गर्नुपर्ने, पूर्वाधारहरु (विशेषगरी सडक जडान) स्तरोन्नति गर्नुपर्ने तथा बंगलादेश र नेपालका पर्यटकहरूका लागि विस्तारित टुर प्याकेजहरू विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपाल र बंगलादेशबीचको पर्यटन सम्बन्धलाई अभिवृद्धि गर्न पर्यटन मन्त्रालयले सरकारीस्तरमा आवश्यक सहयोग र सहयोग गर्ने आश्वासनसमेत दिनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक तथा उपसचिव मोहम्मद सैफुलहसनले आ–आफ्नो गन्तव्यबारे जानकारी तथा नेपाल र बंगलादेशबीचको पर्यटन आदानप्रदानको सम्भावनाबारे विचार एवं प्रस्तुति पेस गर्नुभयो ।
हिमालय एयरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले बंगलादेशलगायत अन्य क्षेत्रहरूमा हिमालय एयरलाइन्सको सञ्चालन योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
पाटा बंगलादेशका अध्यक्ष शहीद हमिदले नेपालको न्यानो आतिथ्यताबाट आफू साह्रै मोहित एवं प्रभावित भएको र बंगलादेशी यात्रुहरूलाई आकर्षित गर्न नेपालमा धेरै आकर्षक पर्यटन उत्पादन तथा सेवाहरू रहेको बताउनुभयो । उहाँले महामारीअघि वार्षिक २६ हजार बंगलादेशीलाई नेपालले स्वागत गर्ने गरेको र यसलाई प्रभावकारी प्रवर्द्धन र मार्केटिङ पहलबाट सहजरूपमा दोब्बर भित्र्याउन सकिने बताउनुभयो ।
कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र बंगलादेश पर्यटन बोर्डले प्रवर्द्धन गरेका थिए भने हिमालय एयरलाइन्स र बुद्ध एयर (एयरलाइन्स पार्ट्नर्स), पोखरा टुरिजम काउन्सिल (आयोजक साझेदार), द रोयल माउन्टेन ट्राभल (ट्रान्सपोर्टेसन पार्टनर) र हस्पिटालिटी पार्ट्नर्सका रूपमा द एभरेष्ट होटेल, केजीएच ग्रुप अफ होटेल्स, अलफ्ट, र्याडिसन, सिद्धार्थ होटेल र द ओल्ड इनले सहयोग गरेका हुन् ।
बंगलादेश टुरिजम बोर्डले पाटा बङ्गलादेश च्याप्टरसँग मिलेर दुवै देशबीचको पर्यटन विकासको आपसी सम्भावनालाई थप आदानप्रदान र विस्तार गर्न पाटा नेपालमार्फत नेपाली समकक्षीहरूलाई चाँडै बंगलादेश भ्रमण गर्न आमन्त्रण गरेको छ ।
–रासस





