Nepali

समाज

देशका अधिकांश क्षेत्रमा बदली, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

sunrisekhabar

 

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य क्षेत्रको मौसम आंशिक रूपमा खुला रहेको छ।

हाल कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। देशका अन्य पहाडी तथा तराई क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित अन्य क्षेत्रका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने तथा अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ।

महाशाखाले विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। सामान्यतया २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई भारी वर्षा मानिन्छ।
 

Your Comment
Your Vote