समाज
कागेश्वरी मनोहरा नगर अस्पतालमा डा. दिवश बास्कोटा मेडिकल सुपरिटेन्डेन्ट र डा. निवेश सुवेदी सहायक मेडिकल सुपरिटेन्डेन्ट नियुक्त
काठमाडौँ । कागेश्वरी मनोहरा नगर अस्पतालमा कार्यरत चिकित्सकहरूलाई नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै डा. दिवश बास्कोटा (MBBS, MD GP & EM) लाई मेडिकल सुपरिटेन्डेन्ट र डा. निवेश सुवेदी लाई सहायक मेडिकल सुपरिटेन्डेन्ट पदमा नियुक्त गरिएको छ।
अस्पतालमा कार्यरत चिकित्सकहरूलाई नै नेतृत्वदायी भूमिकामा पदोन्नति गर्दै जिम्मेवारी प्रदान गरिएको अस्पतालले जनाएको छ। अस्पतालको प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको बताइएको छ।
नगर प्रमुख तथा कार्यकारी निर्देशकको मार्गदर्शनमा अस्पतालको सेवा विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ। अस्पताललाई सुपरस्पेसियालिटी सेवाको विस्तार, नवीनतम प्रविधियुक्त उपचार सेवा, आधुनिक स्वास्थ्य उपकरणको प्रयोग तथा डिजिटल स्वास्थ्य प्रणालीको प्रभावकारी कार्यान्वयनमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि बढाइएको अस्पतालले जनाएको छ।
यसैबीच अस्पतालमा हालै आबद्ध भएका अन्य चिकित्सकहरूलाई समेत स्वागत गरिएको छ। नयाँ चिकित्सकको आगमनसँगै अस्पतालको विशेषज्ञ सेवा तथा उपचार सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ।
नवनियुक्त नेतृत्वले नयाँ सोच, ऊर्जा र दृष्टिकोणका साथ अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक तथा प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ। अस्पताललाई गुणस्तरीय स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्दै नागरिकलाई प्रभावकारी र उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्ने अस्पतालको लक्ष्य रहेको छ।
अस्पतालले नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवश बास्कोटा र सहायक मेडिकल सुपरिटेन्डेन्ट डा. निवेश सुवेदी को कार्यकालमा अस्पतालको सेवा, समर्पण र नागरिकको विश्वास थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।





