समाज
वर्षायामको जोखिम सामना गर्न वृक्ष नेपालद्वारा स्वयंसेवक तयार
काठमाडौं। वर्षायाममा बाढी, डुबान, पहिरो लगायतका प्राकृतिक विपद्का घटनाहरू बढ्दै जाने तथा समुदायस्तरमा जोखिम न्यूनीकरण र उद्धार क्षमताको विकास गर्ने उद्देश्यले वृक्ष नेपालद्वारा आयोजित पाँच दिने विपद् व्यवस्थापन तथा स्वयंसेवक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम कीर्तिपुर नगरपालिकाको सहयोग, MIMAYUDA को सहकार्य, काठमाडौं महानगरपालिका वडा नं. १४ को समन्वय तथा वृक्ष नेपालको आयोजनामा सञ्चालन गरिएको थियो। तालिममा सहभागी स्वयंसेवकहरूलाई विपद् पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार, बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा अपनाउनुपर्ने सावधानी तथा समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिम समापन समारोहका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका नगर प्रमुखले विपद्को समयमा प्रशिक्षित स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै यस्ता तालिमले समुदायलाई सुरक्षित, सक्षम र आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
वृक्ष नेपालका अध्यक्ष तथा समाजसेवी लुना थापाले विगतदेखि नै संस्थाले विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै भन्नुभयो,
“विगतमा हामीले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, खाद्यान्न तथा राहत सामग्री वितरण गर्ने जस्ता कार्यहरू गर्दै आएका थियौँ। अब यो तालिमपश्चात् हामीसँग प्रशिक्षित स्वयंसेवकहरूको टोली तयार भएको छ, जसले आवश्यक पर्दा उद्धार तथा आपत्कालीन सहयोगमा समेत प्रत्यक्ष भूमिका निर्वाह गर्न सक्नेछ। समुदायको सुरक्षाका लागि दक्ष जनशक्ति निर्माण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।”
त्यसैगरी वृक्ष नेपालका सदस्य तथा युवा समाजसेवी सूरज घतानले तालिमले युवाहरूमा सेवा भावना र विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गरेको बताउँदै भन्नुभयो,
“विपद् जुनसुकै बेला र जहाँ पनि आउन सक्छ। यस्तो अवस्थामा बाह्य सहयोगको प्रतीक्षा मात्र नगरी समुदाय स्वयं सक्षम हुन आवश्यक छ। यस तालिममार्फत तयार भएको स्वयंसेवक टोली अब बाढी, डुबान, पहिरो लगायतका विपद्का बेला उद्धार, प्राथमिक उपचार तथा राहत व्यवस्थापनमा सक्रिय रूपमा परिचालित हुन सक्नेछ।”
वृक्ष नेपालका प्रतिनिधिहरूले वर्षायाममा काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा बाढी, डुबान र अन्य प्राकृतिक विपद्का जोखिम बढ्ने भएकाले समुदायस्तरमै दक्ष स्वयंसेवक तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले आफ्नो समुदायमा विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रम सहभागी, आयोजक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।
.jpg)
.jpg)






