विज्ञ भन्छन् – ‘बीमा समितिलाई बलियो र सुदृढ बनाउनु पर्छ’
काठमाडौं । बीमा विज्ञहरुले बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बताएका छन् ।
संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सोमबार छलफल भएको थियो । बीमा सम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल हुनु अघि बैठक बसेको थियो ।
बैठकमा बीमा समितिका पूर्व अध्यक्ष समेत रहेका विज्ञ फत्तबहादुर केसीले बीमाको आकार र क्षेत्र बढ्दै गएको अवस्थामा नियामक निकायलाई बलियो र सुदृढ बनाउनुपर्ने विचार राखे ।
उनले बिमितको हक हितमा ध्यान दिएर बीमा क्षेत्रको सुशासन, पारदर्शिता र वित्तीय कारोबारमा पनि धेरै निगरानी राख्नुपर्ने आवश्यकता रहेको बताए ।
त्यसका लागि नियामक निकायलाई अझ बढी सुदृढीकरण गर्नुपर्ने उनको भनाइ छ ।
बीमा विधेयक ल्याउन ढिलो गर्न नहुने बताउँदै उनले भने – ‘यो ऐन चाँडै आउनुपर्छ, कमी कमजोरी भए संशोधन गर्न सकिन्छ । अहिलेसम्म पशुपतिनाथले बचाएका छन्, तर बीमा क्षेत्रमा दुर्घटना भएको अवस्थामा मौजुदा बीमा ऐनले समस्या समाधान गर्न सम्भव हुँदैन ।’
बैठकमा बीमा विज्ञ सुरेन्द्रमान प्रधानले प्रस्तावित विधेयकमा सुधार गर्नुपर्ने विषयहरु धेरै रहेको बताए ।
यस्तै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विधेयकमा नेपालमा बीमा व्यवसाय गर्न विदेशी कम्पनी पनि आउने व्यवस्था गरिएकाले त्यसलाई हाटाउन सुझाव दिए । त्यस्तै बीमा कम्पनीको लाइसेन्स प्रत्येक वर्ष नविकरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी विधेयक ल्याउन सुझाव दिए ।
बैठकमा सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले सुक्ष्म रुपमा नियन्त्रण गर्नुभन्दा बीमा संस्थालाई पारदर्शी र उत्तरदायी बनाउने व्यवस्था ऐनमा ल्याउनुपर्ने विचार राखे ।
सांसद् सुरेन्द्रप्रसाद पाण्डेले बीमा व्यवसायलाई अझ बढी व्यावहारीक बनाउने र विश्वास जगाउने काम नगरे नेपालमा बीमा व्यवसायको विस्तार सम्भव नभएको प्रष्ट पारे ।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा गर्नेले पाउने सेवा सुविधा र उसले गर्ने दावी भुक्तानी समयमा दिन सकिएन भने बीमा व्यवसाय प्रतिको विश्वास कमजोर भएर जाने बताए ।


प्रतिकृया दिनुहोस