• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय

सनराइज खबर संवाददाता

 

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ।

बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि छलफल गरी विधेयक सभामा पेस गरिने कार्यसूची रहेको छ।

बैठकमा आर्थिक विधेयक, २०८३ माथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथि छलफल गरी निर्णय गरिनेछ। साथै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिका संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष पेस गर्ने कार्यसूची छ।

यसका साथै, प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ।

प्रतिकृया दिनुहोस