संघीय संसद्को दुवै सदनबाट पास भयो सरकारको नीति तथा कार्यक्रम
काठमाडौं । संघीय सकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पास भएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएपछि निर्माणार्थ पेश गरिएको संशोधन प्रस्ताव अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पास भएको हो ।
सभामुख देवराज घिमिरेले ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल भएको थियो ।
नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै प्रस्ताव अस्वीकृत भएका छन् ।
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो । योसँगै सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको हो ।
वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अब नीति तथा कार्यक्रमका आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।


प्रतिकृया दिनुहोस