• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नीति तथा कार्यक्रम व्यवहारिक र वस्तुनिष्ठ हुनुपर्छ : अर्जुननरसिंह केसी 

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले सरकारका नीति कार्यक्रम व्यवहारिक र वस्तुनिष्ठ हुनुपर्ने बताउनुभएको छ । 

बिहीबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै केसीले सरकारले सबै पक्षबाट आएका कुरालाई समेटेर नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । नीति कार्यक्रममा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने कुराले नागरिकमा निराशा बढाउने उहाँको धारणा छ । 

केसीले सरकारले नयाँ पुस्तालाई समेट्ने कुरा नीति तथा कार्यक्रम उल्लेख गरेको कुरा राम्रो भए पनि त्यसको व्यवहारिक कार्यान्वयन भने प्रमुख विषय रहेको स्पष्ट पार्नुभयो । नयाँ पुस्तालाई सम्बोधन गर्ने गरी बजेट र कार्यक्रम बन्नु पर्ने उहाँको धारणा छ । 

कुनै पनि आतङ्ककारी गतिविधि विरुद्ध सरकार दह्रो रूपमा प्रस्तुत हुनु पर्ने उहाँको धारणा छ । भारत र पाकिस्तान बिच युद्धको बादल मडारिएको अवस्थामा नेपाल गम्भीर हुनु पर्ने उहाँले बताउनुभयो । 

दुईवटा ठुला ऐतिहासिक दल मिलेर बनेको अहिलेको सरकारले देशका सबै समस्या समाधान गर्ने हैसियत राख्नु पर्नेमा उहाँले जोड दिनुभयो । सरकारलाई त्यस दिशा तर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभयो । 

भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार प्रतिबद्ध हुनु पर्ने केसीको धारणा छ । ‘समय अनुसार कुरा गर्ने तर काम नगर्ने कुरा आजको जनताको निराशाको कारण हो’, उहाँले भन्नुभयो । 

देशको शिथिल अर्थतन्त्रलाई सही बाटोमा ल्याउने चुनौतीपूर्ण अवस्था अहिले रहेको उहाँले बताउनुभयो । निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बताउँदै उहाँले त्यसलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नु भयो । 

 

प्रतिकृया दिनुहोस