सरकार भ्रष्टाचारी र बिचौलियाको दलदलमा फस्यो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा दुईतिहाइको दम्भ र निरङ्कुश चरित्र भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै दाहालले सरकारले सांसदहरूले दिएको सुझावको बेवास्ता गर्दै नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । सत्तासीन दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले सन्तुष्टि नदिएको उहाँले दाबी गर्नुभयो ।
सरकार दुईतिहाइको दम्भ बोकेर एक्लै दौडन प्रयत्नमा रहेको उहाँले बताउनुभयो । नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको उहाँले दाबी गर्नुभयो । ‘नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान सङ्कटसँग जुध्न सक्ने योजना बोकेको छ, यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ’, उहाँको भनाइ छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको उहाँले बताउनुभयो । सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर सङ्केत भएको बताए । ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन’ उहाँको भनाइ छ ।
उहाँले स्वार्थ समूह र सङ्कीर्ण गठबन्धनको दबाबमा राज्य सञ्चालन हुनु दुःखद विषय भएको बताउनुभयो । सरकारसँग आलोचनाको सम्मान गर्ने लोकतान्त्रिक संस्कृति कमजोर हुँदै गएको उहाँले आरोप लगाउनुभयो । सरकार भ्रष्टाचारी र बिचौलियाको चङ्गुलमा फसेको उहाँको दाबी छ ।


प्रतिकृया दिनुहोस