रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ नदिए सरकारबाट हट्ने नाउपाको चेतावनी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रेशम चौधारीलाई पक्राउ गर्नुको कारणबाट प्रधानमन्त्रीले जवाफ नदिए सरकारबाट हट्ने चेतावनी दिनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसद् लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारणा आउनु पर्ने बताउनुभयो । रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने उहाँले भाग गर्नुभयो । ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो, महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ, यति बेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदन मार्फत प्रधानमन्त्री र गृह मन्त्रीले जवाफ दिन माग गर्दछु’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री र गृह मन्त्रीले सदनमा आएर जवाफ नदिएमा आफूहरू सरकार छाड्न बाध्य हुने उहाँले बताउनुभयो ।
गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम थियो । सोही दिन रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेपछि साढे ५ घण्टा कारागार बसेर रेशम थुनामुक्त हुनुभएको थियो ।


प्रतिकृया दिनुहोस