खेलकुद विधेयकमा सहमति, भलिबललाई राष्ट्रिय खेल बनाइने
काठमाडौं । भलिबललाई राष्ट्रिय खेल बनाउन सांसद्हरु सहमत भएका छन् । लामो विवादपछि भलिबललाई राष्ट्रिय खेलका रूपमा विधेयकमा उल्लेख गर्दै राष्ट्रिय खेलकुद विकास विधेयक पारित भएकाे छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले साेमबार साे विधेयक पारित गरेकाे हाे ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीले विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरिन् ।
पारित भएको सो विधेयकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवको नियुक्ति सिफारिस समितिको निर्णय अनुसार गरिने प्रावधान छ । युवा तथा खेलकुद मन्त्रालयको सचिव संयोजक तथा एक महिला र एक विज्ञ रहेको तीन सदस्यीय समितिले सदस्यसचिवको नाम सिफारिस गर्ने विधेयकमा उल्लेख छ । यस्तै सदस्यसचिवकाे पदावधि चार वर्षको हुनेछ भने एउटै व्यक्ति दुई पटकसम्म सदस्यसचिव बन्न सक्नेछन् ।
यसअघि राखेप सदस्यसचिवको नियुक्ति सोझै युवा तथा खेलकुदमन्त्रीको सिफारिसमा हुँदै आएको थियो । सदस्यसचिव हुनका लागि ३० वर्ष उमेर, स्नातक उत्तीर्ण गरेको तथा खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने विधेयकमा व्यवस्था गरिएको छ ।
विधेयक अनुसार राष्ट्रिय खेलकुद परिषद् १७ सदस्यीय हुनेछ । परिषद्मा पहिलो पटक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधित्व हुने भएको छ । समितिमा यी चारवटै संस्थाको प्रतिनिधित्व अनिवार्य हुनै पर्ने गरी व्यवस्था गरिएको हाे ।
‘नेपालको खेलकुद क्षेत्रको विकासमा चारवटै संस्थाको महत्वपूर्ण योगदान रहँदै आएको छ, त्यही योगदानका आधारमा अबदेखि राखेपमा ती संस्थाको प्रतिनिधित्व अनिवार्य गरिएको हो’ –समितिका सदस्य जीवनराम श्रेष्ठले बताए ।
समितिका अर्का सदस्य गगनकुमार थापाले लामो छलफलपछि खेलकुद विधेयक पारित गरिएको बताउँदै भने– ‘हामीले पटकपटक विस्तृत छलफल गर्यौं, विधेयकमा महत्वपूर्ण कुराहरुको सर्वसम्मत टुङ्गो लगाएका छौँ ।’
यसैगरी राष्ट्रिय खेलकुद परिषद् सञ्चालनका लागि कार्यकारी समितिको व्यवस्था गरिएको छ । साे समितिको संयोजकमा राखेप सदस्यसचिव तथा सदस्यहरुमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, परिषद्का सदस्यमध्येबाट अध्यक्षले मनोनित गरेको एक महिलासहित दुई जना, परिषद्ले मनोनित गरेको एक महिलासहित दुई जना तथा परिषद्को प्रशासन महाशाखा प्रमुख सचिव रहने व्यवस्था गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय स्तरको खेलाडी सम्बन्धी विवाद पनि विधेयकले टुङ्गो लगाएको छ । अब देखि ओलम्पिक, एसियाली र दक्षिण एसियाली औपचारिक खेलकुद वा अन्तर्राष्ट्रिय खेल संघ वा महासंघद्वारा आयोजित खेलकुद तथा सो खेलकुदका विश्वस्तरीय च्याम्पियनसिपमा प्रतिनिधित्व गरी सहभागी भएको नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी भनिने विधेयकमा उल्लेख छ ।
यस्तै विधेयक अनुसार राष्ट्रियस्तरका खेलाडीकाे परिभाषा पनि गरेकाे छ । परिषद्ले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई राष्ट्रिय खेलाडी मान्ने सहमति सहित विधेयक पारित भएकाे छ ।
समितिले याे विधेयक प्रतिनिधि सभामा पठाउनेछ ।


प्रतिकृया दिनुहोस