• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काेशी प्रदेश सभा बैठकमा पेस भयाे ऐन संशोधन गर्न बनेको अध्यादेश

खबर स‌ंवाददाता

विराटनगर । कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ काेशी प्रदेश सभामा पेस भएको छ ।

साेमबारदेखि सुरु भएकाे प्रदेश सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो अध्यादेश पेस गर्नुभएकाे हाे ।

उहाँले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्ताव गर्नुभयाे । 

प्रदेश सरकारले गर्ने मानवीयदेखि अन्य कामलाई सहज बनाउन यो ऐन ल्याएको मन्त्री भण्डारीले बताउनुभयो । सरकारले विपद्का क्षेत्रमा धेरै काम गर्नु पर्ने र मौजुदा ऐनमा भएको त्रुटिले काम गर्न समस्या भएकाले सो अध्यादेश ल्याएको जानकारी दिँदै उहाँले सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर रहेकाे बताउनुभयाे । मन्त्री भण्डारीले पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि भएको दुर्व्यवहारकाे घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने बताउनुभयो । 

सभामुख अम्बरबहादुर विष्टले सदनमा अनुमोदनका लागि पेस गरिएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले चालु आर्थिक वर्ष २०८१-८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा सन्तुलन कायम नभएकाले कार्यान्वयनमा समस्या आएको बताउनुभयाे । उहाँले सरकारले यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । थापाले आफूमाथि भएको आक्रमण सुनियोजित नभएकाले कारबाही नगर्न प्रदेश सरकारलाई आग्रह गर्नुुभयो । 

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले सरकारले हिउँदे अधिवेशन उचित समयमा सुरु गरेको बताउनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सङ्कल्प पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकार उदासीन रहेकाे आराेप लगाउनुभयाे । सालबेसाली र बहुवर्षीय योजनाका ठेक्का अहिलेसम्म नलाग्नु दुःखद भएकाे उहाँले बताउनुभयाे । अधिवेशनको सफलताको कामना गर्दै बाढीका कारण भत्किएका संरचना निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने राईले बताउनुभयाे ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र नेपाल समाजवादी पार्टी नेपालका संसदीय दलका नेता निर्मला लिम्बूले मुलुकको समसामयिक विषयमा धारणा राख्दै अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।

प्रदेश सभाकाे अर्काे बैठक भाेलि मंगलबार बस्नेछ ।

प्रतिकृया दिनुहोस