• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

नगरसभाद्वारा १२ ऐन स्वीकृत 

खबर स‌ंवाददाता

लमजुङ । बेसीशहर नगरपालिकाको छैटौं नगरसभाले  संशोधित बजेट, कानून, ऐननियम र कार्यविधि स्वीकृत गरेको छ । 

नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेकाे नगरसभाले १२ ऐन, नियम र कार्यविधि स्वीकृत गरेको छ । शनिबार सम्पन्न नगरसभामा चालू आर्थिक वर्षका लागि कूल संशोधित बजेट रु ७३ करोड ९८ लाख ४८ हजार स्वीकृत गरेको र हालसम्म रु १३ करोड ६९ लाख २६ हजार खर्च भएको जानकारी दिइएको थियो ।

स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकूद र नगर प्रहरी विधेयक लगायत छन् । यस्तै शिक्षा ऐन २०७४ को संशोधन, सार्वजनिक खरीद नियमावली, तालीम सञ्चालन तथा व्यवस्थापन, महिला विकास कार्यक्रम सञ्चालन, पशु विकास, सार्वजनिक समारोह, स्वास्थ्य संस्था सञ्चालन लगायत कार्यविधि २०७६ लाई सभाले पारित गरेको छ । 

उपप्रमुख लक्ष्मीदेवी अधिकारीले संशोधित बजेट तथा छ महिनाको अवधिमा भएको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा आन्तरिक आय चालू वर्षका लागि  तीन करोड २८ लाख १० हजार रुपैयाँ अनुमानित गरिएकामा हालसम्म एक करोड ५७ लाख ३० हजार प्राप्त भएको उल्लेख छ । त्यस्तै, चालू वर्षका लागि नगरका कूल ४०० योजना रहेकामा हालसम्म ५० प्रतिशत सम्झौता भएको र ३१ योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

नगरप्रमुख अर्यालले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणमा केन्द्रित रहेको बताए । उनले इमन्दारिता र आर्थिक पारदर्शिताका आधारमा काम अघि बढाइएकोले सबै पक्षको सकारात्मक सहयोगले काम गर्न थप ऊर्जा मिलेको बताए । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आर्थिक पक्ष, ऐन तथा कार्यविधि प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस