• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विद्युत् महसुल नउठेको होइन, मिलीभगतमा नियतवश नउठाइएको हो : गोकुल बास्कोटा 

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले व्यवसायीले तिर्नुपर्ने विद्युत् महसुल नउठेको नभई नउठाइएको बताउनुभएको छ । 

आइबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै बास्कोटाले विगत नौ वर्षमा विद्युत् महसुल नियतवश नउठाइएको बताउनुभयो । ‘पैसा उठेन होइन, उठाइएन, पैसा आफैँ उठ्दैन, इच्छाशक्ति हुनुपर्छ, पैसा उठ्छ’, उहाँले भन्नुभयो । 

बास्कोटाले विद्युत् प्राधिकरणले व्यवसायीले उपयोग गरेको लगबुकको डाटा गायब गरेको परिणाम पैसा नउठेको बताउनुभयो । महालेखाको १० औँ प्रतिवेदन अध्ययन गरेर त्यस अनुसार रकम उठाउनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । 

सार्वजनिक लेखा समितिलाई जानकारी नै  नदिई तत्कालीन सरकारले १६ अर्ब रुपैँया मिनाहा दिएको बताउँदै बास्कोटाले त्यसरी मिनाहा गर्नेलाई पनि कारबाही गरेर रकम असुल्नु पर्ने बताउनुभयो । ‘क–कसले उठाएन ती सबै माथि कारबाही हुनुपर्छ’, उहाँले भन्नुभयो । 

उहाँले प्राधिकरणले किन बिल नउठाएर निदाएर बसेको भन्दै प्रश्न गर्नुभयो । उपयोगमा नै आउने सामान किनेर किन हेटौँडामा थुपारेर राखेको भन्दै उहाँले अर्को प्रश्न गर्नुभयो । 'यो मिलीभगत छ, छ', बास्काेटाले भन्नुभयो । 

उहाँले राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको उपसभामुखसँगै सार्वजनिक लेखा समितिको सभापति पनि फेर्नुपर्ने बाउनुभयो । तर त्यसको लागि राजनीतिक सहमति गरेर आउन उहाँले आग्रह गर्नुभयो । सार्वजनिक लेखा समितिको सभापति पदलाई राजनीतिक मसला नबनाउन उहाँको आग्रह छ । 'समितिको सभापति माथि बारम्बार हमला नगरौँ, राजनीतिक प्रक्रियाले टुङ्गो लगाऊँ', उहाँले भन्नुभयो । 

स्थापित मान्यता र परम्पराको कुरा गर्ने हो भने जनार्दन शर्मा लेखा समितिका सभापति हुँदा को सरकारमा थियो भन्दै उहाँले प्रश्न गर्नुभयो । बास्कोटाले तथ्यमा आधारित भएर कुरा गर्न आग्रह गर्नुभयो । जतिसुकै फेसबुकमा लेखे पनि युट्युबे प्रयोग गरे पनि केही नहुने बास्कोटाले स्पष्ट पार्नुभयो । 

 

प्रतिकृया दिनुहोस