संसदीय समितिका सभापति ठाकुर गैरे र ईश्वरीदेवी न्यौपानेद्वारा शपथ ग्रहण
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिहरूले बिहीबार शपथ ग्रहण गर्नुभएको छ ।
बिहीबार संसदीय सुनुवाइको सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका ठाकुर गैरे निर्विरोध निर्वाचित भएपछि शपथ लिनुभएको हो ।
उनीहरूले बिहीबार कृषि समितिको हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नुभएको हो ।
समितिको सभापति निर्वाचित भएपछि गैरेले आफूले सम्पूर्ण क्षमताको साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस कार्यमा आफूलाई सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
गैरेले आफू माथि राखिएको अपेक्षा अनुसारको भूमिका निर्वाह गर्ने बताउनुभयो । जन अपेक्षा अनुसारको काम गर्न सो समितिले भूमिका निर्वाह गर्ने गैरेले बताउनुभयो ।
त्यस्तै संसदीय सुनुवाइ समितिकी नव निर्वाचित सभापति न्यौपानेले आफूले कसै माथि आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो । सुनुवाइ समिति अति जिम्मेवार समिति भएकोले आफू त्यही अनुसार प्रस्तुत हुने उहाँले धारणा राख्नु भयो ।


प्रतिकृया दिनुहोस