‘नेपाली आकाश असुरक्षित भयो जाँचबुझ आयोग गठन गरौं’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे हवाई दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरुले प्रतिवेदन बुझाउन ढिलो गर्ने, बुझाएका प्रतिवेदन समेत कार्यान्वयनमा नआएका कारण नेपाली आकाश असुरक्षित बनेको बताउनुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध एवम पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले बुधबार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे पनि जानकारी दिनुभयाे ।
मन्त्री पाण्डेले दुर्घटना हुनेवित्तिकै छानबिन समिति बनाएर मात्र दुर्घटनामा न्यूनीकरण गर्न नसकिने उल्लेख गर्र्दै नेपालको समग्र हवाई प्रक्रियाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्नुपर्ने धारणा राख्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘अब हामीले सधैं छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ । एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ । सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो,’ उनले अगाडि भने,‘समग्र अध्ययनका लागि मन्त्रालयले प्रस्ताव गर्नुपर्छ, मन्त्रिपरिषद्को बैठकमा छलफल हुनुपर्छ ।’
नेपाली आकाश असरक्षित बन्दै जानुको कारण कानुनी, नीतिगत, संरचनागत के समस्या हो त्यसको अध्ययनका लागि प्राविधिक र जनशक्ति लगायतका विषयमा अध्ययन गर्न समिति गठन गर्नका लागि समेत प्रधानमन्त्रीज्यूले निर्देशन दिएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्ने उनले बताउनुभयाे ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको ज्यान गएको थियो ।
मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन मन्त्री पाण्डेले आग्रह समेत गर्नुभयाे ।


प्रतिकृया दिनुहोस