• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

‘जनयुद्ध’ उच्चारण नगरी नेम्वाङले दिए अग्नि सापकोटाको परिचय

सनराइज खबर संवाददाता

काठमाडौं । समाजमा ‘सभामुख’ भन्नासाथ सुवासचन्द्र नेम्वाङको नाम आउँछ । लामो समय सभामुख रहेका नेम्वाङ आज सभामुख पदका लागि अरु कसैलाई प्रस्ताव गर्ने भूमिका थिए । 

सबैभन्दा लामो समय सभामुख पदमा रहेका नेम्वाङले विगतमा ओनसरी घर्ती र कृष्णबहादुर महरालाई सभामुख पदका लागि प्रस्ताव गरेका थिए । आज अग्निप्रसाद सापकोटालाई सभामुख पदका लागि प्रस्ताव राखे । 

नियम अनुसार प्रस्तावकले केही कुरा बोल्न सक्छन् । प्रतिनिधि सभा बैठकमा कुनै विषयमा कसैले बोल्नुपर्दा सामान्यतया यति समय बोल्ने भनेर सभाका अध्यक्षले समय तोक्छन् । तर, प्रस्तावकले यति समय बोल्ने भनेर सभामुखको कुर्सीमा बसिरहेका महन्थ ठाकुरले तोकेका थिएनन् । अर्थात्, नेम्वाङले लामो समय बोल्न पनि सक्थे, विस्तृतमा बोल्न पनि सक्थे । 

उनले जम्माजम्मी पाँच मिनेट ४० सेकेण्ड मात्र बोले । मिहिन ढंगले केलाउने हो भने पाँच मिनेट ४० सेकेण्डमा उनले केही अर्थपूर्ण कुरा बोले । 

अग्निप्रसाद सापकोटाको पृष्ठभूमिबारे पनि उनले बोले । तर, सापकोटाको पृष्ठभूमि बताउँदा उनले जनयुद्धकारी भूमिका बारे चर्चै गरेनन् । नेम्वाङले सापकोटा ‘लामो समय क्षेत्रमा यो क्षेत्रमा क्रियाशील’ भने । तर, कुन क्षेत्र भनेर खुलाएनन् । उनले राजनीतिक क्षेत्र भन्न खोजेको हुनुपर्छ । 

सापकोटालाई किन सभामुख पदका लागि प्रस्ताव गरिएको हो भन्ने खुलाउनुपर्ने जिम्मेवारी प्रस्तावकको हुनु स्वाभाविक हो । त्यस अनुसार सापकोटालाई प्रस्ताव गरिनुको कारण खुलाउँदै नेम्वाङले भने– ‘या ेभन्दा अगाडिको जीवनकालमा एउटा राम्रो शिक्षकका रुपमा, मेहनती शिक्षकका रुपमा क्रियाशील रहनुहुन्थ्यो । उहाँको यो सबै पृष्ठभूमिलाई ध्यानमा राखेर माननीय अग्निप्रसाद सापकोटालाई सभामुखका रुपमा मैले प्रस्ताव गरेको छु ।’

विगतमा शिक्षक भएकाले अग्निप्रसादलाई सभामुखको जिम्मेवारी उपयुक्त भन्ने आशय नेम्वाङको भनाईमा लक्षित देखिन्छ । जबकि अग्नि सापकोटा तथा उनको सेरोफेरोका नेताहरु आफ्नो जीवनको उपलब्धी र योग्यता १० वर्ष जनयुद्धमा लाग्नुलाई मान्छन् ।

प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा नेम्वाङले दुईटा शब्द विशेष रुपमा उच्चारण गरे– पारदर्शिता र जवाफदेहीता । संसद्को यो अधिवेशनबाट पारदर्शिता र जवाफदेहीतालाई स्थापित गर्नुपर्ने उनले बताए । 
उनले भने– ‘पारदर्शिता र जवाफदेहीतालाई स्थापित गर्ने प्रकृयालाई नेतृत्व गर्ने, सबै दलको विश्वाश जितेर संसदलाई जिम्मेवारी पूरा गर्ने बाटोतर्फ लैजाने महत्वपूण जिम्मेवारीहरु पूरा गर्न हामीलाई सभामुखको आवश्यकता थियो । ढिलै भए पनि त्यो दिशातर्फ अगाडि बढेका छौं ।’ 

उनले भने– ‘सिंगो संसद्लाई विश्वाशमा लिएर अगाडि बढ्न सक्ने भूमिका माननीय अग्नि सापकोटाले पूरा गर्नुहुन्छ भन्ने हाम्रो विश्वाश हो ।’
 

प्रतिकृया दिनुहोस