सभामुखको निर्वाचन आज, सर्वोच्चमा सुनुवाइ पनि हुँदै
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले सभामुख चयन गर्दैछ । आज दिउसो ३ बजे बस्ने बैठकले सभामुखको चयन गर्ने छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ । उनी सभामुख निर्वाचनका लागि एक्ला उम्मेदवार हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि सापकोटाको एकल मनोनयन परेको हो ।
एकल मनोनयन दर्ता भएका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध भएको घोषणा गर्नेछन् ।
सापकोटाका प्रस्तावकमा पूर्व सभामुख सुवास नेम्वाङ छन्। यस्तै, समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद् लक्ष्मणलाल कर्ण छन् ।
सुनुवाइ पनि आजै
सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । उक्त रिटको सुनुवाइको पेसी पनि आजै गर्न ताेकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटको पेसी आजका लागि तोकिएको हो । निवेदकको मागदाबी अनुसार आदेश जारी भएमा निर्वाचन प्रक्रिया रोकिनेछ । आदेश जारी नभएमा सदनको प्रक्रिया अघि बढ्नेछ ।


प्रतिकृया दिनुहोस