• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

संघीय संसद्का ६ संसदीय समितिका बैठक बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्का ६ संसदीय समितिका बैठक बिहीबार बस्दै छन् । 

आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्य प्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबार बस्दै छ । बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन  सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल हुनेछ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसै गरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो एक बजे बस्ने छ ।बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । 

सार्वजनिक लेखा समितिको बैठक भने दिउँसो तीन बजे सिंहदरबारमा बस्नेछ । 

 

प्रतिकृया दिनुहोस