• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

संघीय संसद्का विभिन्न संसदीय समितिका बैठक बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद् अन्तर्गत बिहीबार विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै छन् । 

संघीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छन् । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । 

यसै गरी  झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची पनि आजको बैठकमा छ । यसै गरी, स्पञ्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन बैठकमा पेस गर्ने कार्यक्रम छ ।

आजै बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक  पनि बिहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिका बारे छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस