'सरकारका सबै विधेयक ठिक छ भन्दै लाल मोहर लगाउने हो भने समितिको औचित्य छैन'
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सरकारले ल्याएका सबै विधेयकहरुमा सबै ठिक छ भन्दै लाल मोहर लगाउने हो भने समितिको औचित्य नहुने बताउनुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति थापाले सरकारले ल्याएका विधेयकहरुमा रहेका समस्या, गल्ती र कमजोरीलाई सच्याउने दायित्व समितिको भएको बताउनुभएकाे हाे ।
सरकारले ल्याएका विधेयकहरु सबै ठिकै छन् भन्ने प्रवृति गलत भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘सरकारले जे जे विधेयक ल्याउँछ, त्यसमा लाल मोहर लगाउने हो भने हामी बैठक बसौं एकै दिनमा छाप लगाएर पठाइदिए हुन्छ । यसमा के–के समस्या, गल्ती, कमजोरी छ त्यसलाई सच्याउँने समितिको दायित्व हो । समितिले सरकारले ल्याएका कुराहरुमा गल्ती छ भने फिर्ता पनि गर्न सक्छ । जे जे सरकारले ल्याएको छ त्यो ठिकै छ भनेर छलफल नै नगर्नु पनि भएन । जे निर्देश छ त्यही अनुसार पालना गर्ने विधिले पनि यो देश बिग्रिरहेको छ ।’
देश चलाउने जिम्मेवारी समितिहरुको समेत रहेको उल्लेख गर्दै थापाले सरकारले भनेको सबै कुरा मान्नैपर्ने जरुरी रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘यो देश चलाउने जिम्मेवारी हाम्रो पनि हो, भन्ने कुरा सोच्नु पर्छ । प्रधानमन्त्रीले के भन्छ र मन्त्रीले के भन्छ भनेको भरमा देश चलाउने कुरा पनि ठिक होईन् । यसमा सरकारले ल्याएको कुराभन्दा पनि बढि तपाइहरुको विज्ञता चाहियो । यो मुलुकलाई कसरी अगाडि लाने, कसरी यो मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई पनि सोच्नुपर्छ । यो सरकारको प्रतिनिधित्व गरेका छौ, सबै कुरा सरकारले भनेको कुरा मान्नु पर्छ भन्ने हुदैँन् ।’
नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नगरिकन समितिबाट विदा नहुने उहाँको दाबी थियो ।
उहाँले भन्नुभयाे, ‘यो विश्व विद्यालयलाई टेबुल गर्नुपर्छ, यो विद्यालय शिक्षालाई टेबुल नगरेसम्म म यहाँबाट विदा हुन्न । सबै साथीहरुले साथ दिनुभयो भने हुन्छ । मन्त्रीज्यूले पनि यसको लागि समय निकाल्नुपर्छ । एक दिनमा दुइ घण्टा बैठक बसेपछि यो विधेयक कहिले जाने हो, कति वर्षसम्म जाने हो । हामीले यो विधेयकलाई जसरी भएपनि संसदभित्र प्रवेश गराउनु पर्छ ।’


प्रतिकृया दिनुहोस