सभामुखमा अग्नि सापकोटाको मात्र उम्मेदवारी
काठमाडौं । सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्नि सापकोटाको मात्र उम्मेदवारी परेको छ । यो सँगै सापकोटा सभामुख चयन हुने निश्चित भएको छ ।
मंगलबार निर्धारित समयभित्र अरु दलबाट कसैको पनि उम्मेदवारी नपरेको संसद् सचिवालयले जनाएकाे छ ।
बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सापकोटाले संसद् भवन नयाँ बानेश्वर पुगेर बिहान उम्मेदवारी दर्ता गराएका थिए ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
सभामुखको औपचारिक घोषणा माघ १२ मा बस्ने प्रतिनिधि सभा बैठकबाट गरिने छ । साेही दिन सभामुखकाे चुनाव हुने छ ।
बलात्कार प्रयासको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत १४ असोजमा राजीनामा दिएका थिए । त्यसपछि सभामुख पद रिक्त छ ।


प्रतिकृया दिनुहोस