• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

जगदम्बा स्टिलका कर्मचारी असुरक्षित, संसदीय समितिले अध्ययन गर्ने

सनराइज खबर संवाददाता

काठमाडौं । जगदम्बा स्टिल उद्योगमा कामदारको विषयमा उठेको विवादमा संसदीय समितिले अध्ययन गर्ने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यस्तो निर्णय गरेको हो ।  

सो उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेकाले समितिले अध्ययन तथा छलफल गर्ने भएको छ । 

समितिका सदस्यहरुले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो । 

उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागी नगराइएको पाइएको थियो । यस्तै उद्योगमा सुरक्षाका कुनै मापदण्ड पूरा नगरेको पाइएकाले समितिले थप अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति सदस्य प्रकाश रसाईली स्‍नेहीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । 

सोही अनुसार उपसमितिले अध्ययन गरी संयोजक रसाईलीले आजको बैठकमा प्रतिवेदन पेश गरेको समिति सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए । उनले सो प्रतिवेदनमाथि थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समेत बताए ।

प्रतिवेदनमा जगदम्बा स्टिल उद्योगमा नेपाली कर्मचारी तथा कामदारहरुलाई प्राथमिकता नदिएको उल्लेख छ । यस्तै औद्योगिक क्षेत्रको सञ्चालनमा पर्याप्त स्थानको कमी र कामदारहरुको जोखिम न्युनीकरणका लागि कुनै व्यवस्था नगरिएको पनि उल्लेख छ । 

प्रतिकृया दिनुहोस