स्वतन्त्र र स्वायत्त मिडिया काउन्सिल विधेयकको माग
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरुले स्वतन्त्र र स्वायत्त मिडिया काउन्सिल विधेयकको माग गरेका छन् ।
विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै सांसद्हरुले विधेयकको प्रस्तावनामा सच्याई स्वायत्त, स्वतन्त्र र स्वनियम सहितको व्यवस्था राख्नुपर्ने बताएका हुन् ।
सरकारले संसद्मा पेस गरेको विधेयकको प्रस्तावनामा स्वस्थ, स्वतन्त्र, मार्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धन गर्ने भन्ने उल्लेख छ ।
सांसद् वृषेशचन्द्र लालले पत्रकारिता पेशामा उच्चतम आचरण कायम गर्दै स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिताको विकास गने स्वायत्त नियामक निकायको रुपमा प्रेस काउन्सिल हुनुपर्ने बताए ।
उनले ‘कतिपय कुराहरु मिडियाले उठाइ दिएपछि अनुसन्धानको दायरामा आउने र सबैको ध्यान आकृष्ट हुने गरेको बताए ।
सांसद् रामनारायण विडारीले पत्रकारितामा आफैंले आफैलाई नियमन गर्ने प्रवृतिको कुरा हुनुपर्ने त्यसका लागि स्वायत्त, स्वतन्त्र नियमन गर्ने संस्थाको रुपमा विकास गर्नका लागि विधेयकमा राखिएको भाषालाई सच्याउनुपर्ने बताए।
सांसद् राधेश्याम अधिकारीले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल नै राख्नुपर्ने विचार राखे ।
बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले रेडियो, टेलिभिजन, अनलाइन तथा छापा माध्यम सबैलाई एकै प्रकृतिको नियमन लागू हुन नहुने बताए । उनले फरक फरक प्रकृतिको माध्यम भएकाले सोहि अनुसार नै नियमनको आवश्यकता हुनेमा जोड दिए ।


प्रतिकृया दिनुहोस