• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पाउनुभयो विश्वासको मत 

सनराइज खबर संवाददाता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । 

उहाँले सोमबार प्रदेश सभामा राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।  प्रदेश सभा बैठकमा उपस्थित भएका मध्ये ५७ जना सदस्यले कार्कीको पक्षमा मतदान गर्नुभएको छ ।  

उहाँको विपक्षमा एक मत पनि परेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको कारण विपक्षमा मत नपरेको हो । 

मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका तीन र जसपाका एक गरी  ५७ जना सदस्यले मत दिनुभएको छ । बैठकमा राप्रपाका पाँच जना प्रदेश सभा सदस्य भने तटस्थ बस्नुभयो । 

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्रीले ५७ मत पाउनुभएकोले विश्वासको मत पाउनुभएको घोषणा सभामुख अम्बरबहादुर विष्टले गर्नुभयो ।  

 बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्नुभएका कार्कीले मुख्यमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता थियो । उहाँले पाँच दिनमा नै विश्वासको मत लिनुभएको छ ।

उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको छ । सर्वोच्च अदालतले सो रिटमा अन्तरिम आदेश जारी नगरेको कारण कार्कीले विश्वासको मत लिनुभएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइको जेठ ९ गते हुँदै छ । 

अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाइको मिति तोकिसकिएको अवस्थामा मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिन खोजेको भन्दै कांग्रेसले आजको बैठक बहिष्कार गरेको हो ।  बैठकमा कांग्रेसका सबै २९ जना प्रदेश सभा सदस्य अनुपस्थित हुनुभयो । 

प्रतिकृया दिनुहोस