• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नवनिर्वाचित प्रदेश सभा सदस्य दमन भण्डारीद्वारा शपथ

खबर स‌ंवाददाता

काठमाडाैं । नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

बझाङ निर्वाचन क्षेत्र नम्बर-१ को (१) मा वैशाख १५ गते सम्पन्न उपचुनावमा नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य भण्डारीले बिहीबार शपथ लिनुभएकाे हाे । उहाँलाई सभामुख भीमबहादुर भण्डारीले शपथ गराउनुभएकाे हाे ।

भण्डारी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।भण्डारीले ११ हजार ६ सय १३ मत पाउनुभएकाे थियाे भने सिंहले ११ हजार ३ सय ४६ मत ल्याउनुभएकाे थियाे ।

तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री एवं कांग्रेस सांसद् पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा वैशाख १५ गते उपचुनाव भएकाे थियाे । कांग्रेसले साे उपचुनवामा सिंहकै छाेरा अभिषेकलाई उठाएकाे थियाे ।

भण्डारी थपिएसँगै ५३ सदस्यीय प्रदेश सभामा एमालेका ११ सांसद् भएका छन् । माओवादी केन्द्रका पनि ११ सांसद् छन् । प्रदेश सभामा कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद् छन् ।

प्रतिकृया दिनुहोस