गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाएकाे सभामुख धितालकाे घाेषणा
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएकाे छ ।
आइतबार बसेकाे गण्डकी प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले सर्वाेच्च अदालतकाे व्याख्यालाई आधार मानेर मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणा गर्नुभएकाे हाे ।
प्रदेश सभामा भएकाे मत विभाजनमा मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा २ मत तटस्थमा परेको थियो । मतदान प्रक्रियामा ५९ सांसद्ले भाग लिएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक रहेको अवस्थामा सभामुख कृष्ण प्रसाद धितालले संविधान अनुसार निर्णायक अवस्थामा आफूले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएकाे हाे ।
यसअघि मुख्यमन्त्री नियुक्त गर्दा सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरेको भन्दै कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारी विरुद्ध चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे । साे रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीकाे इजलासले धिताललाई गणना नगर्दा पनि ३० जना सांसद्को समर्थन रहने भन्दै रिट खारेज गरिदिएकाे थियाे ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र मनाङेसहित ६० जना सांसद् छन् । सत्तापक्षले सर्वाेच्चकाे व्याख्या अनुसार ३० जनाले बहुमत पुग्ने बताएकाे छ । तर प्रतिपक्षले ३१ सांसद् नै चाहिने बताउँदै आएकाे छ ।
मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणापछि कांग्रेस फेरी सर्वाेच्च जाने तयारीमा छ ।


प्रतिकृया दिनुहोस