• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

केही महिनामै नेपालमा रेल चल्छ – मन्त्री नेम्वाङ

सनराइज खबर संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले केही महिना भित्रै नेपालमा रेल चल्ने बताएका छन् । मंगलबार बसेकाे राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुले रेल कहिले अ‌ाउँछ भन्‍ने जिज्ञासा राखेका थिए ।

त्यसकाे जवाफ दिँदै मन्त्री नेम्वाङले भने– ‘अब धेरै कुर्न पर्दैन, दुई/तीन महिना भित्र नेपाली भूमिमा रेल चल्छ ।’ 

केही महिनाभित्र भारतले जीटूजी मोडलमा बनेको रेल नेपाल पठाउने भन्दै उनले त्यसपछि जनकपुरबाट बर्दिबाससम्म रेल चल्ने बताए । सरकारले रेल मार्ग बनाउने कामलाई तीव्र पारेको भन्दै उनले रेलमार्गको ३५ किमि ट्रयाक सम्पन्‍न भएको बताए । 

रेल चलाउने दक्ष जनशक्तिको अभाव भएकाे भन्दै उनले यसकाे व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । रेल क्षेत्रमा लगानी गर्न केही राष्ट्र इच्छुक रहेको समेत उनले समिति सदस्यलाई जानकारी गराए ।

मन्त्री नेम्वाङले मास ट्रान्सपोर्टेसनको रुपमा सर्वसुलभ सुविधा पुर्‍याउन  'रेल्वे  विधेयक २०७६' ल्याइएको पनि बताए । विद्युतीय रेलको समेत परिकल्पना गरिएको भन्दै उनले विद्युतीय यातायात सञ्चालनका लागि सरकारले सरोकारवालासँग छलफल गरिरहेको बताए ।

समितिकाे छलफलमा सांसद्हरुले देशभर सडक दुर्घटना बढेकाे भन्दै उनीहरुले सडक नीति सुधार गर्न माग गरेका थिए । यस्तै चालकका लागि तालिम र कडा कानुन ल्याउन आग्रह पनि गरे ।

समितिको सोमबार बसेको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुले निर्देशन नटेरेको सांसदहरुले गुनासो गरेका थिए ।  

प्रतिकृया दिनुहोस