मन्त्री र सचिवहरु नै मान्दैनन् संसदीय समितिका निर्देशन
काठमाडौं । राष्ट्रिय सभाका सांसद्हरुले संसदीय समितिका निर्देशन मन्त्री र सचिवहरुले नमानेको गुनासो गरेका छन् । सोमबार बजार अनुगमनलाई नियमति गर्ने छलफल र छड्के अनुगमन सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद्हरुले साे गुनासाे गरेका हुन् ।
यसरी समितिकाे निर्देशन नमान्ने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास लगायत छन् ।
याे समस्या समाधानका लागि अहिलेसम्मका निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन समितिले नै गर्नुपर्ने माग गरेका छन् । विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतकाे समितिले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसद्हरुले यस्तो माग गरेका हुन् ।
सांसद् महेशकुमार महराले समितिबाट धेरै निर्णय भएकाे तर कार्यान्वयनमा आउन नसकेको गुनासो गरे । उनले सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेकोले यस्ताे भएकाे बताए ।
यस्तै सांसद् दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा बोलाएर जवाफ माग्नुपर्ने विचार राखे ।
सांसद् विमला राई पौडेलले पहिला सम्बन्धित मन्त्रालय र विभागका कर्मचारीलाई बोलाएर समस्या समाधानका लागि समय दिनुपर्ने बताइन् । त्यसले नभएमा मात्र अनुगमनमा जानुपर्ने उनकाे भनाइ छ ।
सांसद् कमलाकुमारी वलीले पछिल्लो समय यातायात क्षेत्रमा समस्या बढ्दै गएकाे भन्दै अनुगमनपछि मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताइन् ।
सांसद् मुक्ताकुमारी यादवले समितिले दिएका निर्देशन कति कार्यान्वयनमा भए र के काम भइरहेको छ त्यसको जवाफ माग्नुपर्ने बताइन् ।
समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय नदिएको गुनासो गरिन् । उनले– ‘समितिको बैठकमा सुरुसुरुमा आउनुहुन्थ्यो, अहिले तीन दिन अघि जानकारी गराउँदा पनि आउनुहुन्न ।’
सभापति भट्टले निर्देशन कार्यान्वयन भए– नभएकोबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग्न समितिले पहल थाल्ने बताइन् ।
संसदीय समितिहरुले विभिन्न विषयमा सम्बन्धीत मन्त्रालयका मन्त्री र समितिलाई निर्देशन दिने गर्छन् ।


प्रतिकृया दिनुहोस