• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रतिगुप्तचरी विधेयकमा अब दफावार छलफल हुने

खबर स‌ंवाददाता

काठमाडौं । प्रतिगुप्तचरी (विशेष सेवा) विधेयकलाई राष्ट्रिय सभाले आफ्नो विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

राष्ट्रिय सभाको आजको बैठकले सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाएको हो । 

प्रतिगुप्तचरी विधेयकको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा विरोध गर्दै आएको छ । सो विधेयकमा हालको राष्ट्रिय अनुसन्धान विभागले नेपालको हितमा विदेशमा गुप्तचरी गर्न सक्ने र नेपालभित्र पनि विदेशी गुप्तचरीको निगरानी गर्न सक्ने व्यवस्था गरिएको छ । 

विदेशी गुप्तचरीको अनुसन्धान गर्दा सन्देहको घेरामा परेका व्यक्तिको फोन तथा इन्टरनेट सम्पर्क अनुसन्धान विभागले हेर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । नेपाली कांग्रेसले यसैमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव राखेको छ । कांग्रेसले राखेको संशोधन प्रस्ताव उपर पनि विधायन व्यवस्थापन समितिमा छलफल हुनेछ ।

कांग्रेसले यो विधेयक आवश्यक छैन भन्दै विधेयक पेस नगर्न राष्ट्रिय सभामा विरोधको सूचना राखेको थियो । तर, सभाको बहुमतले कांग्रेसले राखेको विरोधको सूचना खारेज गरेको थियो । 

विधायन व्यवस्थापन समितिमा अब विधेयकको हरेक दफामा छलफल हुनेछ । राष्ट्रिय सभाले पारित गरेपछि यो विधेयक प्रतिनिधि सभामा पठाइने छ । 


 

प्रतिकृया दिनुहोस