• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

‘काम गर्न नसके बाहिरिन्छु' – निराला

सनराइज खबर संवाददाता

काठमाडौं । न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर खड्का निरालाकाे नाम सर्वसम्मतिले अनुमाेदन भएकाे छ । यसअघि संसदीय समितिमा उनकाे सुनुवाई भएकाे थियाे । 

सांसद्का प्रश्नकाे जवाफ दिँदै उनले न्याय परिषद् स्वच्छ भए धेरै कुरा स्वच्छ हुने बताएका थिए । उनले भने– ‘हातमा छाप छ, जे भनेपनि फाप्छ भन्‍ने साेचबाट मुक्त हुनुपर्छ, म यसमा सजग र सर्तक भएर लाग्छु ।’

पदमा रहुन्जेल न्यायालयमा विकृति र विसंगति आउन नदिने भन्दै उनले राजनीतिक र आर्थिक प्रभावमा नपर्ने बताए ।

‘अहिलेसम्म स्वच्छ भएर काम गरेँ, अब राम नाम भन्‍ने बेला किन प्रभावित हुने ? यस्ता गुनासा सुन्‍नुपरे मलाई त्यहाँ देख्‍नु हुने छैन' –उनले भने – ‘काम गर्न नसके बाहिरिन्छु ।’

संविधान र कानुनको अतिक्रमण गरे मात्र विकृति जन्मने उनको भनाइ छ । न्याय परिषद्‍बा‍ट जाने व्यक्तिबाटै न्यायपालिका प्रतिबिम्बित हुने भन्दै उनले भागवण्डा जस्ता क्रियाकलाप रोक्न पहल गर्ने बताए ।

सुनुवाइका क्रममा सांसद्हरुले राजनीतिक र आर्थिक प्रभावले न्यायालय प्रभावित भएको भन्दै निरालालाई प्रभावित हुने कि नहुने भनी प्रश्न गरेका थिए । जवाफमा निरालाले आफ्ना भावनाका कुरा उठेको भन्दै सत्य स्थापित गर्न पारदर्शी भएर काम गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा समिति सभापति लक्ष्मणलाल कर्णले न्यायपरिषद्ले समानुपातिक समावेशीताको संवैधानिक व्यवस्था नमानेको बताए । यसमा ध्यान दिएर अघि बढ्न उनले निरालालाई सुझाव दिए ।

सांसद्ले सोधेको प्रश्नको जवाफ दिएपछि निरालालाई सर्वसम्मतिले न्याय परिषद् सदस्यमा अनुमोदन गरिएको थियो । अब राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्नेछिन् ।

 

प्रतिकृया दिनुहोस