• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

स्थानीय तहमा कर्मचारीकाे छिटाे पदपूर्ति गर्न माग

सनराइज खबर संवाददाता

काठमाडौं । स्थानीय तहमा कर्मचारीको अभावका कारण विकास तथा सुशासनको प्रत्याभूति हुन नसकेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कालीबहादुर मल्लले बताएका छन् । 

सोमबार राष्ट्रिय सभाको विशेष समयमा बाेल्दै उनले स्थानीय तहमा कर्मचारीकाे अभाव रहेकाे बताए । उनले भने – ' स्थानीय तहमा ओभरसियरले प्राविधिक, लेखा र प्रशासनको काम गर्नुपरेकाे छ । जसले गर्दा सेवाग्राहीले सास्ती खेप्‍नु परेको छ ।’

उपलब्ध जनशक्ति पनि दक्ष नहुनु तथा जनशक्ति अभावका कारण बजेट खर्चकाे अवस्था निराशाजनक भएको उनले बताए । स्थानीय तहकाे संख्या मात्र बढेकाे तर कर्मचारी नबढेकाे बताउँदै उनले भने – ‘आवश्यकता भन्दा बढी कर्मचारी केन्द्रमा छन् । केन्द्रमा यस्ताे धेरै कर्मचारी आवश्यक छ की छैन त्यसकाे समीक्षा हुनु पर्छ ।'

यी विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँदै उनले कर्मचारीको अभावमा स्थानीय तहकाे प्रभावकारिता कम भएकाे बताए ।  

याे समस्या समाधान गर्नकाे लागि पदपूर्ति छिटाे हुनु पर्ने अथवा स्थानीय तह आफैंले कर्मचारी पदपूर्ति गर्न पाउने बाटो खाेल्न उनले माग गरे । यसमा सरकारले ढिलाई गरे संघीयतामा विकास र सुशासनको प्रत्याभूति हुन नसक्ने उनले बताए । 

यस्तै वर्तमान सरकारले विकास निर्माणमा ध्यान दिएकाे बताउँदै यसकै फलस्वरुप विकासका कामले गति लिएको उनले बताए । विकास निर्माणका काममा समय लाग्‍ने बताउँदै  उनले भने –‘सबैकाम एकैपटक गर्न सकिदैंन । बिस्तारै हुँदै जाने हो ।’

राष्ट्रिय गौरवका आयोजनाले गति लिएकाे र यसले गर्दा सरकार प्रति जनताको विश्वास बढेको उनले दावी गरे । 
 

प्रतिकृया दिनुहोस