• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बीउ बिजन विधयेकमाथिको छलफल अन्तिम चरणमा

खबर स‌ंवाददाता

काठमाडौं । बीउ बिजन विधयेकमाथिको छलफल अन्तिम चरणमा पुगेको छ । कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिमा जारी छलफल सकिएपछि विधेयक पारितकाे प्रक्रियामा जानेछ ।

विधेयकमाथिकाे दफावार छलफल सकिएको र केही संशोधनमाथि छलफल हुन बाँकी रहेको समिति सभापति पूर्णकुमारी सुवेदीले सनराइज खबरलाई जानकारी दिइन् । उनले भनिन् –‘विधेयकमा केही सहजीकरण गरेर मिलाउने काम भएको छ । संशोधनका केही विषयमा छलफल गर्न बाँकी छ, भोली वा पर्सीमा विधेयक पारित हुन्छ ।’

आइतबार बसेको समितिको बैठकमा सांसद्हरुले उखु किसानका समस्याका विषयमा जिज्ञासा राखेका छन् । कृषि मन्त्री घनश्याम भुषाललाई उनीहरुले उखु किसानकाे मर्काबारे जिज्ञासा राखेका हुन् । 

उखु किसानहरुले पैसा नपाएको, उखुको उचित मूल्य निर्धारण हुन नसकेको विषयमा मन्त्री भुषाललाई सोधिएकाे थियाे । सांसद्हरुको जिज्ञासापछि मन्त्री भुषालले किसान मर्कामा परेकाे र उनीहरुले न्याय पाउनु पर्ने धारणा राखे । उनले भने – ‘किसानहरुले न्याय पाउनुपर्छ, मूल्य सही निर्धारण हुनुपर्छ । हामी त्यस विषयमा लागेका छौं ।’

किसानले पाउने अनुदान उनीहरुकै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउने तयारी रहेकाे मन्त्री भुषालले जानकारी दिए । 

उखुको पैसा नदिइ मिल संचालक भागेको विषयमा उद्योग मन्त्रीसँग कुरा भइरहेकाे सभापति सुवेदीले बताइन् । यो विषयमा उद्योग मन्त्रालयसँग बसेर छलफल गर्ने र निष्कर्षमा पुग्‍ने जानकारी उनले दिइन्।

प्रतिकृया दिनुहोस