• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पोल्ट्री महासंघकाे उजुरीमा संसदीय समितिकाे छानबिन

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल पोल्ट्री महासंघले गरेको उजुरीमाथि छानबिन हुने भएकाे छ । राष्ट्रिय सभाकाे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले यसकाे छानबिन गर्ने भएको हाे ।

कुखुराको दाना बनाउँदा आवश्यक पर्ने कच्चा पदार्थमा क्वारेन्टाइन लगाइएको भन्दै माहासंघले समितिमा उजुरी गरेको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ मा अजैविक वस्तुमा क्वारेन्टाइन नलाग्‍ने व्यवस्था गरिएको छ । तर ऐन विपरित क्वारेन्टाइन लाग्‍ने व्यवस्था गरेर पशु विभागले पत्राचार गरेपछि महासंघले उजुरी गरेको हो ।

आइतबार समितिले महासंघका पदाधिकारी, मन्त्रालयका सचिव, विभागका महानिर्देशक लगायतलाई बोलाएर साे उजुरी माथि छलफल गरेको छ ।

कानुन विपरित क्वारेन्टाइन लगाएकाे उजुरीमा अनुसन्धान गर्न लागिएको समिति सभापति रामनारायण बिडारीले सनराइज खबरलाई जानकारी दिए । उनले भने –‘पशु उत्पादन गर्ने जैविक पदार्थमा मात्र क्वारेन्टाइन लाग्‍ने हो । तर अन्‍नमा, खाद्यान्‍नमा, औषधिमा समेत क्ववारेन्टायन लगाएर हामीलाई असजिलो पारेकाे भन्‍ने महासंघको उजुरीमा छनबिन गर्न आवश्यक देखिएको छ ।’

विभागले क्वारेन्टाइन लगाउन लेखेको पत्र वैध हो कि अवैध, त्यो जाच्‍नु पर्ने अवस्था रहेकाे सभापति बिडारीले बताए । यो विषयमा यथाशिघ्र प्रष्ट पार्न समितिले विभागलाई निर्देशन दिएको छ ।

विभागले याे विषय प्रष्ट पारे पछि छलफल गरेर निर्णयमा पुग्‍ने उनले बताए ।
 

प्रतिकृया दिनुहोस