राजस्व चुहावट नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभामा पेश भएको राजस्व चुहावट सम्बन्धी विधेयक न्यायपूर्ण रहेको बताएका छन् ।
सभामा सांसद्हरुले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) २०७५' विधेयक माथि जिज्ञासा राखेका थिए । साे जिज्ञासाको जवाफ दिँदै मन्त्री खतिवडाले भने–‘विधेयकमा बढी राजस्व चुहावट गर्नेलाई सजाय बढाइएको छ भने कम गर्नेका लगि कम सजायको व्यवस्था गरिएको छ । साेहीकारण विधेयक न्यायपूर्ण छ ।’
सुराकीका विषयमा विकृती आएकाेमा यस विधेयकमा यसलाई सुधार गर्ने प्रावधान राखिएकाे उनले बताए । विधेयकमा कर्मचारी र प्रहरीका परिवारसमेत सुराकीमा सामेल भएर लाभ लिने भएकाले त्यसको अन्त्य गर्न नयाँ व्यवस्था ल्याइअधिकतम सीमा तोकिएको उनले बताए ।
‘बुहुमूल्य वस्तुमा १० प्रतिशत, अरुमा २० प्रतिशत र सुराकीको रकम २५ लाख भन्दा माथि नहुने गरी रकममा समेत सीमा तोकीएको छ’– खतिवडाले भने ।
उनले सुराकी कुनै पेशा नभएको बताउँदै विकृतीको अन्त्यसँगै सुराकी पेशा पनि अन्त्य हुने धारणा राखे ।
यस्तै उनले करदाताहरुलाई सम्मानित गरेर मात्र नपुग्ने भन्दै दण्ड पनि आवश्यक रहेकाे बताए ।
राजस्व प्रणाली र राजस्व चुहावटमा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दे प्रतिकारात्मक रुपमा विधेयक ल्याइएका खतिवडाले बताए । उनले भने– ‘चुहावट गर्नेलाई धार्मिक प्रवचनले मात्र नहुने रहेछ, त्यसैले यो विधेयक ल्याइएको हो ।’
अर्थमन्त्रीकाे जवाफसँगै राष्ट्रिय सभाबाट विधेयक निर्णयार्थ पेश भयाे र विधेयक सर्वसम्मत पारित भएकाे छ ।


प्रतिकृया दिनुहोस