• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सांसद् राधेश्यामको आक्रोश: नारायणहिटीमा अ‌ालिसान होटल चलाउन दिए हुन्छ

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल ट्रष्टकाे नाममा रहेकाे जग्गा जथाभावी भाडामा लगाएकाे भन्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकारकाे आलाेचना गरेका छन् ।

सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले ट्रष्टको जग्गा निजी कम्पनीलाई भाडामा दिनु र कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले आशंका उब्जिएको बताए । उनले भने– ‘सो जग्गा विवादमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको संलग्‍नता भनिएको छ, त्यसो हो भने  मुलुकको लागि राम्रो हुने छैन । यसबारे सदनलाई जानकारी हाेस‍् ।’

नारायणहिटी दरबार ट्रष्टलाई दिन लागिएको भन्दै उनले भने–  ‘दरबारको सत्कार कक्षमा विदेशी पाँहुनालाई स्वागत गर्न, रेष्टुराँ खोल्न पहल हुँदैछ । रेष्टुराँमात्र होइन आलिसान होटल चलाउन लिजमा दिए भइहाल्यो ।’

नेपाल ट्रष्ट सम्बन्धी ऐनको संशोधन विधेयक बदनियतका साथ आएको उनले अ‌ाराेप लगाए । साे विधेयक ल्याउन आवश्यक छैन भन्दा पनि सरकारले ल्याएको भन्दै उनले भने- ‘विधेयक आवश्यक छैन,  पारित भए नीतिगत भ्रष्टाचारको मुहान खोल्छ भनेका थियौँ, त्यस्तै देखियो ।’

अहिले सो विषयबारे देशभित्र मात्र नभएर विदेशमै फैलिएको भन्दै उनले भने– ‘भ्रष्टाचारबारे छानबिन गर्ने ट्रान्सफरेन्सी नेपालले पनि यसमा भ्रष्टचार भएको प्रष्ट पारेको छ ।’  सरकार भने कानमा तेल हालेर बसेको आरोप लगाउँदै उनले सम्बन्धित निकायलाई ज्ञान नभएकाे जिकिर गरे । 

गोकर्ण रिसोर्टलाई लिजको म्याद थप्नुको औचित्य पुष्टि गर्न पनि उनले आग्रह गरे । 

प्रतिकृया दिनुहोस