• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सत्तापक्ष र विपक्षी दलबीच सहकार्य कुनै आश्चर्य होइन– वृषेशचन्द्र लाल

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले सत्तापक्ष र विपक्षीदलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको बताएका छन् ।

राष्ट्रिसभा सदस्य सुरेन्द्रराज पाण्डेले सत्तापक्ष र विपक्षी दल निर्वाचनमा गठबन्धन बनाएर जानु राजनीतिक चरित्रभन्दा बाहिरको कुरा भएको आराेप लगाएपछि लालले सहकार्यकाे बचाउ गरेका हुन् । गत बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएकाे थियाे । 

राष्ट्रिय सभाको पाँचौ अधिवेशनमा उनले निर्वाचन र पार्टीको एजेण्डा फरक विषय भएकाे बताए । राम्रो कुराका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु राजनीतिक आचरण भएकोले यसमा कुनै आश्चर्य नभएकाे धारणा राखे ।

यस्तै वर्तमान् संविधान स्वीकार गर्ने मधेसी, जनजाती र थारुको चाहानालाई सम्वाेधन हुने गरी संविधान संशाेधनकाे आवश्यकता रहेकाे बताए । देशमा मिश्रीत निर्वाचन प्रणाली अङ्गालिएकाे र अन्य विषय पनि साेहीअनुसार आत्मसाथ गर्न सत्ता पक्षले ध्यान दिनु पर्नेमा उनले जाेड दिए ।

जनतालाई सुशासनको अनुभुति योजनाबद्ध विकास कार्यको सञ्चालनले मात्र हुने भन्दै उनले भने– ‘स्रोत र साधनको प्रयोग, दुरगामी परिणाम र उत्पादकत्वलाई ध्यानमा राखी गर्नुपर्नेमा कमि रहेको छ । यसले गर्दा परिणाममुखी दिगो विकासमा अवरोध पर्दैछ ।’ 

 

 

प्रतिकृया दिनुहोस