• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामा जुटेन सहमति

सनराइज खबर संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय खेलाडीकाे परिभाषा सम्बन्धी विवादले शुक्रबार पनि निरन्तरता पाएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के राख्‍ने भन्‍नेमा सहमति जुट्न सकेन । 

सोमबार देखि सुरु भएको  खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा शुक्रबार पनि सहमति नजुटेकाे हाे ।

बैठकमा सहमति जुट्न नसकेपछि समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर उपस्थित हुन निर्देशन दिएकी छन् । 

बैठकमा नेपाली कांग्रेस सांसद गगन थापाले पदक नल्याउने खेलाडीलाई अन्तराष्ट्रिय खेलाडी होइन भन्‍न नहुने बताए ।  उनले भने –‘ खेलमा पदक ल्याए अन्तर्राष्ट्रिय खेलाडी हुने, पदक ल्याउन नसके सहभागी मात्रै भएकाे भन्‍न मिल्दैन । ’

सांसद जीवनराम श्रेष्ठले मेडल जित्‍नु र सहभागी हुनु फरक विषय भएको भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी खेलाडीलाई पनि अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने धारणा राखे। ‘छनाेट प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागी भएपछि उसलाई पनि मान्यता दिनुपर्छ ’ – उनले भने ।

यसअघि सोमबार बसेको समितिको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियाेगितामा सहभागी मात्र भएका  खेलाडीलाई अन्तराष्ट्रिय खेलाडीकाे दर्जा दिनु उपयुक्त नहुने मत राखेका थिए ।   


 

प्रतिकृया दिनुहोस