• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आज यसरी सुरु हुँदैछ संघीय संसदको अधिवेशन

टेकेन्द्र बुढाथाेकी

काठमाडौं । संघीय संसद्को अधिवेशन आजबाट सुरु हुँदैछ । आज अपरान्ह चार बजे राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक बस्दैछ । आज दुवै सदनको बैठकका एजेण्डा लगभग उस्तै हुनेछ ।

राष्ट्रिय सभा बैठकको एजेण्डा तय भइसकेको छ तर प्रतिनिधि सभाको एजेण्डा भने तय भएको छैन । संसद्का सदनहरुको एजेण्डा ती सदनको कार्यव्यवस्था परामर्श समितिले तय गर्छ । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक नै बसेको छैन ।

आज प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्नेछिन् । बैठक बस्नु अघि एक बजे कार्यव्यवस्थाको बैठक राखिएको छ । सो बैठकले प्रतिनिधि सभा बैठकको एजेण्डा तय गर्नेछ । 

सभामुखको चुनाव कसरी गर्ने, यस सम्बन्धी प्रक्रिया आजैबाट अघि बढाउने कि अर्काे बैठकपछि बढाउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । कार्यव्यवस्थाको आजको बैठकले यसको पनि टुंगो लगाउने छ । 

दुवै सदनको आजको बेग्लाबेग्लै बैठकमा सबैभन्दा पहिले राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आव्हान भएको सम्बन्धी पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रिय सभा बैठकमा दलका नेताहरुले अधिवेशन सुरु भएको विषयमा बोल्नेछन् । प्रतिनिधि सभामा नेताहरुले बोल्ने कार्यक्रम आजै राख्ने कि आउँदो बैठकमा राख्ने भन्ने कार्यव्यवस्थाको बैठकले तय गर्न बाँकी नै छ । 

आज दुवै सदनमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइनेछ । यसरी सुनाइने पत्रहरुमा मन्त्रिमण्डल पुर्नगठनको पत्र पनि हुनेछ । त्यसपछि शोक प्रस्ताव प्रस्तुत गरिनेछ । 

यस बीचमा दिवंगत भएका पूर्व सांसद् तथा बहालवाला सांसद्हरुको शोकमा प्रस्ताव प्रस्तुत गरिने छ । पूर्व सांसद् हरि बैरागी दाहाल, रामलखन महतो र रामेश्वर ढंगेल तथा बहालवाला सांसद् कमला सुवेदीको निधनमा शोक प्रस्ताव पेश गरिने छ ।


 

प्रतिकृया दिनुहोस