• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेम्वाङले गरे आशा, उत्साह र उमंगका कुरा

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा संसदीय दलका उपनेता तथा तत्कालीन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आशा जगाउने, उत्साह बढाउने र उमंग फैलाउने ढंगका विचार प्रतिनिधि सभामा राखेका छन् । 
मौलिक अधिकार सम्बन्धी कानूनहरु सफलतापूर्वक बनाइनुलाई उनले ठूलो सफलता भएको बताए । तीन वर्षभित्र नबनाएको भए के हुन्थ्यो ? नेम्वाङले प्रश्न गरे अनि जवाफ पनि दिए– ‘मुलुक संवैधानिक संकटमा जान्थ्यो ।’

संविधान कार्यान्वयनका महत्वपूर्ण कामहरु गरिएको भन्दै उनले संविधान कार्यान्वयनका लागि सयौं कानून बनाउनु ठूलो उपलब्धी हो भने । 

अब राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने विचार राख्दै उनले भने– ‘अब कसैले आन्दोलन गर्न पर्दैन, अब कसैले पनि सशस्त्र क्रान्ति गर्न पर्दैन, हामीले बनाएको यो संविधानलाई टेकेर जुनसुकै प्रकारका राजनीतिक परिवर्तन गर्न सकिन्छ । त्यसैले राजनीतिक आन्दोलन गर्नुपर्ने स्थित अब रहेन ।’

‘यो आधारमा टेकेर समृद्ध नेपाल सुखी नेपालीलाई व्यवहारमा अनुभूत हुने आधारतर्फ अगाडि बढौं’– उनले भने । 

नेम्वाङले भने– ‘हामीले शिर ठाडो हुने काम गरेका छौं, संसारलाई देखाउन सकिने काम गरेका छौं । यी महत्वपूर्ण कामहरुलाई अगाडि सार्न नबिर्सौं । यसो गर्दैनौं भने निरासाको सन्देश जान्छ ।’

‘अलिकति पनि निरास हुनुपर्ने ठाउँ छैन, हामीले राम्रा काम गरेका छौं, ऐतिहासिक काम गरेका छौं’– उनले भने– ‘कमी कमजोरी भएको छ भने सच्याएर अगाडि बढ्न तयार छौं ।’

पूर्ववक्ता प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने– ‘प्रतिपक्षीका रुपमा हाम्रा भोगाई झलझली सम्झना छ । दौरा सुरुवाल कोट र टोपी लगाएर सिंहदरबारबाट जनता भेट्न बाहिर निस्कँदा गेटमा चेप्टिने गरी कुटाइ खायौं । यो घटना झलझली सम्झना छ । तर, हामी त्यसो गर्दैनौं ।’

संविधानको प्रस्तावनामा समाजवादको विशेषता र चरित्र उल्लेख भएको बताउँदै उनले संविधान निर्माणको समेत स्मरण गरे । ‘संसद्मा होस् या सडकमा, संविधानका मान्यता र आदर्श विपरित कामकुरा नगर्न हामी सचेत छौं’– उनले भने । 

‘संसद् सधैं चलोस्, एकैछिन पनि बैठक अवरोध नहोस् भन्ने हामीले चाहेका हौं, अब कहिले पनि भविष्यमा अवरोध नगर्न विशेष समिति नै बनाएर छलफल गरिरहेका छौं’– उनले भने– ‘कहिले पनि संसद्को अवरोधतिर जाने दिन नआओस्, फेरि त्यस्तो दिन नआओस् भन्ने दिशातर्फ अगाडि बढ्न सकौं भनी आग्रह गर्न चाहन्छु ।’

‘प्रतिनिधि सभा, राष्ट्रिय सभा र राजनीतिक दलहरु जहिले पनि समस्यामा छलफलपछि निष्कर्षमा पुग्छन्, वार्ता र छलफलबाट निष्कर्षमा पुग्छन् भन्ने सन्देश दिन सफल भएका छौं’– उनले भने । 


 
 

प्रतिकृया दिनुहोस